धनकुटा / देश विदेशको सरकारबाट निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने सरकारको निर्णय सच्याउन माग गर्दै धनकुटाका भूपू सैनिकहरूले नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।
भूपू सैनिक सङ्घ धनकुटाको अगुवाइमा उनीहरूले नेपाल सरकार मन्त्रिपरिषद्को ०७७ असार १७ गतेको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन–पत्र पठाएका हुन् । सङ्घका अध्यक्ष धनबहादुर खड्का र क्षेत्रीय सभापति श्यामप्रकाश राईको अगुवाइमा धनकुटा जिल्लामा आबद्ध १६ सयभन्दा बढी भूपू सैनिक परिवारहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर प्रजिअ केशव विमलीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
प्रेषित ज्ञापन–पत्रमा सरकारले ०७७ असार १७ गते गरेको निर्णयप्रति विभिन्न देश तथा विदेशबाट अवकाशप्राप्त भारतीय सिविलियन कर्मचारी, भूपू सैनिक, नेपाली सैनिक तथा ब्रिटिस गोर्खा सैनिकका परिवारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनीहरूले नेपाल सरकारले भूपू सैनिकलाई अनागरिक सरह व्यवहार गर्न खोजेको आरोपसमेत लगाएका छन् । भारत, बेलायत र अन्य देशबाट अवकाशप्राप्त सिविलियन कर्मचारीहरूले विदेशमा गरेको सेवाबापत राज्यले अरबौं रिमिटेन्स प्राप्त गर्ने गरेको ज्ञापन–पत्रमा जनाइएको छ । त्यसका साथै विश्व शान्तिको लागि प्रथम र द्वितीय विश्व युद्धमा बहादुरी प्रदर्शन गर्ने पूर्वज १३ जना भिक्टोरिया क्रस प्राप्त गरेर नेपालको नाम विश्वलाई चिनाउन सफल गोर्खालीको देश नेपाल सरकारले भूपू सैनिकमाथि यस्तो अन्याय गर्न नहुने भन्दै निर्णय तत्काल सच्याउन भनिएको छ ।
































