- सन्तवीर लामा
धनकुटा / केही दिनयताको निरन्तरको वर्षाको कारणले धनकुटा जिल्लाका ५ घरपरिवार विस्थापित भएका छन् ।
हरेक दिनको वर्षासँगै खसेको पहिरोले जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घरपरिवार विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । यस्तै पहिरोका कारण जोखिम बढेपछि महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थानान्तरण गरिएको छ ।
यस्तै साँगुरीगढी गाउँपालिका वडा नं.७ लेउती र गर्जुवा खोलामा सोमबार राति अविरल वर्षाको कारण आएको बाढीले दुवै खोलाको सङ्गमस्थल गर्जुवा दोभानमा रहेका ९ घरपरिवारको बसोबास रहेको सानो बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकैको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो ।
लेउती र गर्जुवा खोलामा पानीको बहाव अत्यधिक बढिरहेकोले त्रास बढेको स्थानीय यामबहादुर राईले बताएका छन् । उनले रातको समयमा पानी पर्दा आफूहरू बढी त्रसित हुने गरेको बताए । गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्गसमेत पटक–पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालय धनकुटाका सुपरभाइजर अमृता राईले बताइन् । पानी पर्ने बित्तिकै गर्जुवाको शिरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो ।
अविरल मुसलधारे वर्षासँगै सोमबार राति खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को.१ झ ५८४ नम्बरको गाडीको आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयले कोशी लोकमार्गको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिका कार्यालयका योजना अनुगमन तथा प्रशासन शाखाका प्रमुख सीताराम गौतमले बताए । निरन्तर वर्षा भइरहेको हुँदा पहिरोले छिनछिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम निरन्तर भइरहेको छ ।