लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगकालागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ शाखा, बेलायतले २३ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
शनिबार लण्डनमा जुममार्फत बसेको शाखाको बैठकले सो निर्णय पारित गर्दै सहयोग गरिएको रकममध्ये २० लाख रूपैयाँ अक्षय कोषमा राखिने छ। भने ३ लाख रूपैयाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुकालागि तत्काल खर्च गरिने जनाएकाे छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालिन कोषमा यसअघि केन्द्रीय समितिले ३० लाख रुपियाँ जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा १ करोड रूपैयाँ जम्मा गर्ने लक्ष्य लिएको छ ।
शाखा, बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नकालागि १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ । यसैगरी, महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय गरेका छन् ।
बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष आचार्यले भने, 'कोभिड-१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै २ हजार पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७ सय ५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भए, रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो ।' महासचिव बिष्टले आपत्कालिन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ बेलायतलाई हार्दिक धन्यवाद दिएका थिए।
शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी, नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ, डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशी उपस्थिति रहेका थिए ।
                    
        
                                        
                                                                                                
        































