इटहरी/ पछिल्लो समय इटहरी क्षेत्रमा कालोपत्रेको विकल्पमा इन्टरलक कङ्क्रिट पेभर्सबाट सडक बनाउने क्रम बढेको छ । केही समयदेखि यो प्रविधि भित्रिएको छ । अहिले विभिन्न क्षेत्रमा सडक बनाउँदा कालोपत्रेको सट्टा पेभर्स प्रयोग गर्न थालेको देखिएको छ । आकर्षक देखिने, वातावरणमैत्री, टिकाउ भएका कारण पेभर्स रोजाइमा परेको उपभोक्ताहरू बताउँछन् ।

इटहरी–६ का वडासदस्य अरुण गुरुङ भन्छन्, ‘कालोपत्रेमा ग्यारेण्टी वारेण्टी नहुने, पानीका कारण एक वर्षमै खाल्डा पर्ने गरेकोले बजेटको दुरुपयोग हुने र सर्वसाधारणलाई सास्ती भएकोले त्यसको विकल्पमा नयाँ प्रविधि पेभर्सको प्रयोग गरेर सडक बनाउन वडा कार्यालय अग्रसर भएको हो ।’ अहिले मुख्य हाई–वेभन्दा भित्री सडकहरूमा कालोपत्रेको विकल्पमा इन्टरलकबाट सडक निर्माणको काम धमाधम भइरहेको उनी बताउँछन् ।

हेर्दा राम्रो, बलियो र ५ वर्षको ग्यारेण्टी पाएको कारणले कङ्क्रिटको बाटो बनाउन थालेको उपभोक्ताहरू बताउँछन् । ‘अझ हामीलाई मन परेको विषय भनेको कुनै एउटा भाँचिएमा तुरुन्त फेर्न मिल्दो रहेछ र भाँचिएको ठाउँमा खाल्डो पनि नपर्ने रहेछ, त्यसैले यो उपयुक्त देखियो’ इटहरी–२० का राज कार्कीले भने, ‘सडक हेर्दा पनि राम्रो देखिने भएकोले ब्लक उपयुक्त देखियो ।’

कालोपत्रेको तुलनामा लागत पनि उस्तै पर्ने भएकोले हामी यो पद्धतिप्रति स्थानीय आकर्षित बन्दै गएको इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ बताउँछन् । इटहरी–२० मा ब्लक, कालोपत्रे र ढलाइ गरेर सडक निर्माण भइरहेको उनले बताए । धेरै यातायातका साधन आवत–जावतमा भने समस्या हुने भएको कारण भित्री सडकमा यसको प्रयोग बढिरहेको उनी बताउँछन् ।

प्राविधिकका अनुसार यसबाट सडक बनाउँदा टुटफुट कम हुने, मर्मत–सम्भार खर्च न्यून हुने र कालोपत्रे सडकभन्दा धेरै समय टिक्ने भएको कारण पनि यसको प्रयोग बढेको इटहरी उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमिरे बताउँछन् । इन्टरलक इटहरी क्षेत्रमा ४–५ वर्षदेखि शुरु भएको उनी बताउँछन् । उपभोक्ताहरूलाई काम गर्न पनि सजिलो, मेसिन औजारहरू नचाहिने भएको कारण पनि लोकप्रिय भएको उनको बुझाइ छ ।

‘भित्री सडकमा ठूला सवारी जाँदैनन्, त्यस्ता ठाउँमा उपयुक्त देखियो, मर्मत गर्नलाई पनि सजिलो छ । खानेपानीको पाइप फुटिहाले केही टायल निकाल्ने र फेरि लगाउन सजिलो भयो । उपभोक्तामैत्री पनि देखिएको कारण कालोपत्रे भन्दा इन्टरलक उपभोक्ताहरूले मन पराउन थालेका छन्’–इञ्जिनियर घिमिरेले भने ।

इटहरीमा केही वर्षदेखि इन्टरलक उत्पादन गर्दै आएका हाम्रो टायलर्सका सञ्चालक जीवन दङ्गालले कालोपत्रेभन्दा इन्टरलक धेरै राम्रो हुने बताउँछन् । बाटो बनाएको ठाउँमा भत्काएर पनि अर्को ठाउँमा राख्न सकिने बताउँदै भूकम्प प्रतिरोधात्मक भएको कारण भित्री सडकहरूमा धेरै उपयुक्त हुने उनले ठोकुवा गरे । अहिले भीडभाड नहुने बाटोमा इन्टरलकबाट सडक बनाउने क्रम बढेको इञ्जिनियर घिमिरेको भनाइ छ । अहिले अधिकांश भित्री बाटोहरूमा इन्टरलक हाल्ने क्रम बढ्दै गएपछि भित्री सडकको सुन्दरतासमेत बढ्रेको छ ।