काठमाडौं । यो वर्षको बर्षातको कारण हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले  एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझदा म अत्यन्त दुखित भएको छु ।’

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्दै उनले भनेका छन्, ‘विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ । हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू-क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ ।’

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कुरा पूर्वराजा ज्ञानेन्द्रले ईश्वरसँग प्रार्थना गरेका छन् । ‘प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।