बेलबारी/ विभिन्न शुभकार्यमा बजाइने नौमती बाजा लोप हुन नदिन बेलबारी नगरपालिकाले संरक्षण गर्न थालेको छ ।

दुई सेट नरसिङ्गा, दुई सेट सहनाई, दुई सेट दमाहा, एक सेट ढोलकी, एक सेट ट्याम्को र एक सेट झ्यालीसहित नौमती बाजा बजाउनेहरूलाई एक–एक थान पोसाकसमेत बेलबारी नगरपालिकाले सोमबार परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बाजा तथा कपडा हस्तान्तरण गरेका हुन् । बाजा संरक्षणका माध्यमबाट रोजगारीको सिर्जना गर्ने, युवापुस्तालाई नौमती बाजाप्रति अभिप्रेरित गर्नेलगायत विकास गर्नका लागि नौमती बाजा र पोसाक हस्तान्तरण गरिएको नगरप्रमुख सुवेदीले बताए ।

नौमती बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वाससमेत लिएको नगर प्रमुख सुवेदीले बताए । नेपाली कला, संस्कृति र प्राकृतिक दृश्यहरू हेर्नका लागि विदेशी पर्यटकहरू नेपाल आउने गर्दछन् ।

विशेषगरी नौमती बाजाको धुन पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । विवाह उत्सवजस्ता शुभकार्यमा नौमती बाजा बजाउने गरिन्छ ।