भण्टाबारी/ कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ । विद्यालय जाने अवस्था नहुँदा साथीभाइसँग खेलेर जितेन्द्रले दिन बिताउने गर्थे । तर, आजकाल जितेन्द्रलगायत कोशी ब्यारेज क्षेत्रका बालबालिकाको दिनचर्या फेरिएको छ । लकडाउन अघिसम्म विद्यालयमा रमाउने यस क्षेत्रका बालबालिका केही दिनयता दाउरा सङ्कलनमा व्यस्त छन् ।

नदीमा पानीको सतह बढ्दा कोशी ब्यारेज क्षेत्रका सर्वसाधारणलाई घरमा पानी पसेर विस्थापित हुने खतरासँगै केहीलाई काठ, दाउरा तथा अन्य सामान जोड्न भ्याई नभ्याई छ । सप्तकोशी नदीमा उर्लिएर आएको पानीको भेलमा जोखिम मोलेर काठ, दाउरा सङ्कलन गर्ने बालबालिकाको भीड कोशी ब्यारेजमा देख्न सकिन्छ ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ को सिमानामा अवस्थित कोशी ब्यारेजको दुवैतर्फ नदीले बगाएर ल्याएको काठ, दाउरा निकाल्न अन्य बालबालिकासँगै स्थानीय ९ वर्षीय मिथलेश सदा पनि हतारोमा हुन्छन् ।

लकडाउनका बेला विद्यालय बन्द रहेकोले आफूले काठ, दाउरा सङ्कलन गर्दै आएको उनले बताए । दिनभर सङ्कलन गरेको काठ, दाउरा घरमा खाना पकाउन प्रयोग गर्नुका साथै दैनिक रूपमा ५ देखि ८ सय सम्मको बेच्ने समेत गरेको मिथलेश बताउँछन् । जितेन्द्र र मिथलेशका साथै जोखिम मोलेर भएपनि यस क्षेत्रका सर्वसाधारण सप्तकोशी नदीले बगाएर ल्याउने काठ, दाउरा सङ्कलन गर्दै आएका छन् । उनीहरूले सङ्कलन गरेका काठ, दाउरा खाना पकाउनका लागि इन्धन र आम्दानीको स्रोतसमेत बन्ने गरेको छ ।

ज्यानको बाजी राखेर पेट पाल्न बालबालिका, महिलासमेत काठ, दाउरा निकाल्न व्यस्त छन् । कोशी ब्यारेजका स्थानीय सुदन मण्डलले बिहानदेखि बेलुकासम्म सप्तकोशी नदीले बगाएर ल्याएको काठ, दाउरा सङ्कलन गर्न सबै व्यस्त हुन्छन् । कहिलेकाहीँ रुख नै बगाएर ल्याएमा साथीहरूको सहायतामा डोरी लगाएर निकाल्ने गरेको उनको कथन छ ।

सानैदेखि पौडिन जानेका र गाउँका अधिकांशले यसरी नै दाउरा सङ्कलन गरेको देखेका मण्डलले हरेक वर्ष यसरी नै वर्षदिनलाई पुग्ने दाउरा नदीको भेलबाट जम्मा गर्दै आएका छन् । ‘कोशीमा पानीको बहाव बढ्दा बर्सेनि घरमा पानी पस्ने गर्छ, अन्त जाउँ भने अन्यत्र जग्गा छैन, जसरी भए पनि यहीँ बस्नुपर्छ’ मण्डलले भने, ‘बरु बगेर आएका काठ, दाउरा सङ्कलन गर्दा आफूलाई दाउराको जोहो हुनुका साथै वर्षमा ३० देखि ५० हजारसम्म कमाइ हुने गरेको छ ।’ केही आम्दानी गर्नुकासाथै उनीहरूले वर्षभर खाना पकाउन दाउराको पनि जोहो गर्ने गरेका छन् ।

सप्तकोशी नदीमा अहिले पानीको बहाव बढ्दो क्रममा छ । केही दिनयता पहाडीभेगमा निरन्तर वर्षा जारी रहँदा सप्तकोशी नदीको पानीले छेउछाउका स्थानीयको घरमा पानी पसेको छ भने केही विस्थापित भएका छन् । बाढी पसेर घर बगाउने र लगाएको धान खेती डुबाउने चिन्ता उत्तिकै छ । तर, यस क्षेत्रका बालबालिका कोशी ब्यारेजको ढोकामाथिबाट जोखिम मोलेर काठ, दाउरा सङ्कलनमा व्यस्त छन् । कसैको लागि सप्तकोशी नदी पानीको बहाव बढ्दा चिन्ताको विषय बनेको छ भने कसैको लागि कमाउने माध्यम बनेको छ ।

ब्यारेज आसपास रहेका कतिपय स्थानीयले कोशी नदीको बाढीले बगाएर ल्याएको काठ, दाउरा सङ्कलन गरेर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् । पुरुषका साथै बालबालिका र महिलाहरू वर्षायाम शुरु भएसँगै नदीले बगाएर ल्याएको काठ, दाउरा जोखिम मोलेर सङ्कलनमा व्यस्त रहन्छन् । बिना कुनै सुरक्षा र सतर्कता कोशी ब्यारेज क्षेत्रमा दुई दर्जन बढी बालबालिकाहरू ब्यारेजको ढोकामाथिबाट लठ्ठीमा भाला उनेर त्यसैको सहायताले दाउरा निकाल्ने गर्छन् ।

सप्तकोशीमा पानीको बहावको पर्वाह नगरी महिला तथा बालबालिकाहरूले जोखिम मोलेर काठ, दाउरा निकाल्दै आए पनि यसतर्फ स्थानीय प्रशासनले चासो देखाएको पाइँदैन । जसले गर्दा आम्दानीसँगै उनीहरूको ज्यानको जोखिमसमेत उत्तिकै छ । वार्षिक रूपमा कोशी आसपास क्षेत्रमा काठ, दाउरा सङ्कलन र माछा मार्ने क्रममा तीनदेखि पाँचजनासम्मले ज्यान गुमाउँदै आएका छन् ।