विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई काठमाण्डौ ल्याएपछि आवश्यक कारवाहीको लागि आइतबार राती मोरङ प्रहरी कार्यालय ल्याएको थियो ।
इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ४ का हरिशरण खड्कालाई आवश्यक कारवाहीको लागि विराटनगर ल्याएको हो ।

आपराधिक समूह बनाई सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा मोरङ अदालतमा अहिले बिचारधिन छ । सोही मुद्दाका फरार प्रतिवादी हुन् ती खड्का ।
मोरङ प्रहरीमा अभियुक्त खड्कालाई ल्याएपछि आवश्यक कारवाहीको लागि मोरङ अदालतमा सोमबार दिउँसो उपस्थित गराउने तयारी गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराउन अनिवार्य विराटनगरस्थित कोशी अस्पतालमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण गराउनु पर्दछ । आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि अदालत उपस्थित गराउनुपर्ने हुन्छ । तर, आरडी परीक्षणमा रिर्पोट आउनु अगाडी अभियुक्त खड्कालाई सोझै अदालत उपस्थित गराएको थियो । अस्पतालले खड्काको आरडिटी परीक्षणको रिर्पोट पोजेटिभ आएको अदालतमा पठाएपछि कर्मचारीहरू भागदौड सुरू भएको अदालतका एक जना कर्मचारीले बताए ।

आरडीटि परीक्षणमा अभियुक्तलाई नेभेटिभ देखाएपछि अदालतको करिब दुई घण्टा कामकाज प्रभावित बनेको थियो । अदालत भित्र र परिसार पुरै सेनिटाइज गरेपछि कामकाज सुरू भयो ।
अभियुक्तलाई खड्कालाई अदालतबाट बाहिर निकालेर पुनः कोशी अस्पतालमा पिसिआर प्रविधिबाट परिक्षण गर्न स्वाब दिन लगाएको थियो । सोमबार साझ कोशी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको खड्काको परीक्षणमा नेगेटिभ देखाएको अस्पतालले जनाएको छ ।

प्रतिवादी खड्काको आरडिटी रिर्पोटमा पोजेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षण नेगेटिभ आएकोले मंगलबार थुनछेक बहस हुने मोरङ अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । अदालतको थुनछेक बहस सकेपछि न्यायधीशले आदेश दिनेछन् ।
खड्का २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।
पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्राउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।