ब्लाष्टखबर । विश्वभर फैलिएकाे काेराेना महामारीकाे जाेखिमलाई मध्य नजर गर्दै यसपटक धरान १४ स्थित पिण्डेश्वर बाबा धाममा साउन महिनामा लाग्ने बाेलबाम मेला नलाग्ने भएकाे छ । सरकारले साउन ९ गते सम्म लकडाउन जारी गरे संगै मठ मन्दिरहरू बन्द भइरहेकाे अवस्थामा पिण्डेश्वर बाबा धाममा यसपाली बाेलबमकाे समयमा धर्मिक समाराेह नहुने भएकाे पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले बताएका छन् ।

लकडाउन सुरू भए संगै बन्द भएकाे बाबा धामकाे मुल ढाेकामा ताला लगाइएकाे बताउदै बनेपालीले भने " सरकारले मठमन्दिर खाेलेकाे छैन  । त्यसैले  बोलबम धार्मिक समारोह नहुने भएको हो । केहि भक्तजनहरू आइरहनु भएकाे छ तर मुल गेटमा ताला लगाइएकाेले दर्शन गर्न पाउनु भएकाे छैन । कहिले काही नित्य पुजा भएको बेला मन्दिर केहि प्रवेश गर्नु हुन्छ अरूबेला बन्द नै रहन्छ । "

बनेपालीले साउन ९ गतेबाट सरकारले मठ मन्दिर खुल्ला गरे पुर्नविचार गर्न सकिने भएपनि त्यस अघि भने पिण्डेश्वरमा बाेलबमकाे समयमा अरू वर्षहरूकाे जस्ताे कुनै पनि प्रकारकाे गतिविधि नहुने बताएका छन् । साउनकाे साेमबार  देशका विभिन्न ठाउँहरू तथा भारतबाट करिब १ लाख भक्तजनहरू पिण्डेश्वमा जल चढाउन आउने गरेकाेमा यसपटक भने काेराेना महामरीका कारण बाेलबम यात्रा प्रभावित हुने भएकाे छ । 

भिडभाडमा  संक्रमणको जोखिम हुने भएकोले पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली लगायत धरानका अन्य मठमन्दिरहरू पनि बन्द अवस्थामा छन् ।