विराटनगर/ बर्सेनि केशलिया खोलाबाट मनोमानीरूपमा उत्खनन् गर्दा वर्षायाममा विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नुपरेको छ । वर्षा शुरु भएसँगै केशलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा विराटनगर महानगरपालिकाको सयौं घर डुबानमा पर्ने गरेको हो ।

मापदण्ड विपरीत उत्खनन् हुने खोलाको धार सिधै बस्तीतर्फ सोझिएर बाढी पस्दा महानगरपालिकाभित्रका सयौंं विस्थापित हुने गरेका छन् । शनिबार रातिदेखिको अविरल वर्षाको कारण केशलिया खोला विराटनगर–६ ब्रह्मापुराबाट विराटनगर–१२ बखरीको सिमराई बस्तीमा पस्दा यहाँका ३० घरपरिवारका १ सय ५० भन्दा बढी आइतबार बिहान विस्थापित भएका छन् ।

बाढी र डुबानका कारण विस्थापित भएका सिमराई बस्तीका ३० घरपरिवारका करिब १ सय ५० जनालाई उद्धार गरी विराटनगर–१२ स्थित बखरी स्कुलमा सुरक्षित राखिएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए । विस्थापित भई बखरी स्कुलमा बसेका परिवारहरूलाई विराटनगर महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने वडाध्यक्ष कामतले बताए । बाढी पीडितलाई तत्कालको लागि भुजा र चिउरा वितरण गरिएको उनले बताए ।

खोला बस्तीमा पस्दा विशेषगरी विराटनगर–६ को रामपुर, १२ को बखरी, सिमराई टोल र १६ को दरैया बस्तीका घरहरू डुबानमा पर्ने गरेको हो । डुबानमा परी विस्थापित भएका घरपरिवारलाई सुरिक्षत स्थानमा सारिएको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

‘अहिलेसम्मको अवस्था सामान्य छ’ डिएसपी गौतमले भने, ‘डुबानमा परेका स्थानीय नजिकैको स्कुलमा बसोबास गर्दैछन् । पानी केही रोकिएको छ । पानी रोकिएन भने मात्र समस्या हुने हो ।’ गत असारको अन्तिम साताको वर्षापछि केशलिया र सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगरको अधिकांश वडाका घर डुबानमा परेका थिए ।

विराटनगरको पश्चिमतर्फ रहेको सुनसरी र मोरङको सिमाना भएर बग्ने केशलिया खोलाको धार परिवर्तन गरेर तस्करी धन्दामा लागेका गिरोहले गिट्टी, बालुवा उत्खनन् गर्दै आएको थियो । अवैध रूपमा गरिएको उत्खनन्को प्रत्यक्ष असर अहिले आएर सामान्य वर्षा हुनासाथ खोला गाउँमा पसेर बस्ती डुबानमा पर्ने गरेको छ ।

आइतबार केशलिया खोला बस्तीमा पस्दा विराटनगर– ६ ब्रह्मपुराका पनि आधा दर्जन घर डुबानमा परेको प्रहरीले जनाएको छ । यस्तै विराटनगर –१२ सिम्राही टोलको मुसर बस्तीमा पनि पानी पसेर १० घर डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ । विराटनगर १२ बखरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टमा पनि पानी पसेको छ ।

खोलाको साविक बहाव परिवर्तन गराउँदै उत्खनन् र प्लटिङ गराउँदा प्रत्येक वर्ष वर्षामा बाढी बस्तीभित्र पस्ने गरेको विराटनगर–१२ बखरीका मन्जे यादवले बताए । ‘खोला र जमिनको सतह बराबर भएकैले बहाव बढ्नेबित्तिकै बाढी बस्तीसम्म आइपुग्छ’ उनले भने, ‘बर्सेनि बाढीले क्षति गरेको देख्दादेख्दै पनि महानगर र प्रहरीले नियन्त्रणका लागि कुनै कदम चालेको देखिँदैन ।’

केशलिया खोलामा २०५२ सालदेखि नै स्थानीय र सुनसरीका ठेकेदारहरूले खोलाको धार परिवर्तन गराएर अवैध उत्खनन् गर्दै आएका छन् । यहाँका स्थानीयले केशलिया खोला बस्तीमा पस्न नदिन बलियो तटबन्धन गर्न माग गरेका छन् । उनीहरूले स्थानीय तह र प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् ।

‘सामान्य वर्षा हुँदा पनि केशलिया खोला बस्तीमा पस्ने गरेको छ’ बखरीका अनिल यादवले भने, ‘हामीले निर्वाचित जनप्रतिनिधिहरूलाई कति पटक आग्रह गरिसक्यौं । हाम्रो कुरा सुन्न चाहँदैनन् । हामीलाई राहतभन्दा पनि बस्तीमा बाढी पस्न नदिन बलियो तटबन्धन गरिदिए हुन्थ्यो ।’ यहाँका स्थानीयले केशलिया खोलामा बलियो तटबन्धन गर्न माग राख्दा पनि कुनै सुनुवाइ नभएको बताएका छन् ।

4