• भूपेन्द्रराज तिम्सिना

पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये २ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए । दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आएका थिए । प्रदेशस्थित कोभिड प्रयोगशाला विराटनगरको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रदेशकै कोभिड अस्पतालमा पठाउने प्रक्रिया अघि बढाइएको छ । नगर प्रमुख राईले कोरोना भाइरस लाग्नबाट बच्नका लागि थप सहजकता अपनाउन नगरवासीलाई अनुरोध समेत गरेका छन् ।

हालसम्म नगरको क्वारेन्टिनमा २ सय ३१ पुरुष र ५७ महिला गरी २ सय ८८ जना बसेकोमा २ सय ४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ । जसमध्ये कोरोना नदेखिएका २ सय ४५ जना घर फर्किसकेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

नगरमा २ सय ६६ जनामा कोरोनाको आरडीटी समेत परीक्षण गरिएकोमा सो परीक्षणमा भनें कसैमा पनि कोरोना नदेखिएको पनि उनले बताए । यसअघि नगरमा भारतबाट आएका एक पुरुषमा कोरोना देखिएको भएपनि उनी कोरोनामुक्त भइसकेका छन् ।