धरान / केही दिन यता अविरल परेको पानीले धरानमा पनि क्षति पु¥याएको छ । धरानस्थित सर्दु खोलामा आएको बाढीले धरान १३ राई टोलमा बस्दै आएका एक पूर्व भारतीय शैनिक ६६ बर्षीय रामबहादुर बस्नेतलाई बगाएको छ ।
आज दिउँसो धरान–१३ बाट पारि रहेको गोठमा जानेक्रममा उनलाई बगाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । खोलामा आएको बाढीले उनलाई दिउसै बगाए पनि उनलाई हालसम्म फेला पार्न नसकिएको इप्रकाका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । अविरल वर्षा भइरहेकाले साँझसम्म खोजी कार्य जारी रहेको छ ।
खोलाले बगाएको सूचना आउने वितिकै प्रहरी परिचालन गरिएको थियो । हिउँदमा सुख्खा हुने धरानको सेउती र सर्दुले वर्षायाममा निकै क्षति गर्ने गर्छ ।
सुन्दरबस्नी जोखिममा
धरान–५ स्थित सुन्दरबस्तीको मन्दिरा जोगीको घर सेउती खोलको कटानको उच्च जोखिममा परेको छ । उनको घर नजिकको ट्वाइलेट बगाएर लगेको डिएसपी बस्नेतले जानकारी दिए । यस्तै स्थानीय तीजबहादुर लिम्बुको घर पनि कटानको जोखिममा परेको छ ।
२६ सय सुकुम्वासी परिवार उच्च जोखिममा
निरन्तरको वर्षाले धरानको सुकुम्बासी बस्तीका २६ सय घर जोखिममा परेका छन् । धरानका विभिन्न वडामा बसोबास गर्ने १८ वटा सुकुम्बासी बस्तीका करिब २६ सय घर जोखिममा रहेको बताइएको छ । पानी निरन्तर परिरहेकाले अझ बढि खोखिममा पर्ने बताइएको छ ।