- मिकाइल आलम
भण्टाबारी/ स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै वडासदस्यहरूले गुनासो गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवका साथै कर्मचारीहरूको समेत मनोमानी बढेको वडासदस्यहरूले गुनासो गरेका हुन् ।
गत आर्थिक वर्षमा भएका पूर्वाधार विकास कार्य अन्तर्गत व्यापक आर्थिक अनियमितता भएको बारेमा अख्तियारमा उजुरी दिए पनि छानबिनसमेत नभएको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ का वडासदस्य शिवनारायण साहले बताए । स्थानीय तहको ३ वर्षको अन्तरालमा भएको विकास निर्माण कार्यका बारेमा जिज्ञासा राख्दा वडासदस्य साहले भने वडाध्यक्ष र गाउँपालिका अध्यक्षले योजना पारेर ४० प्रतिशत काम गर्ने र ६० प्रतिशत भागबण्डा गर्दै आएका छन् । ‘भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा यसरी नै कागजात मिलाएर जनप्रतिनिधि र कर्मचारीले भागबण्डाबाट बचेको पैसाले काम हुँदैछ’–उनले भने ।
भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ को इस्राइलको घरदेखि दक्षिण जाने बाटोदेखि पीपल चौकसम्मको योजनामा वडाध्यक्ष राजेश्वर साहले वडानम्बर ८ का व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर अनियमितता गरेको वडासदस्य शिवनारायणले आरोप लगाए । गुणस्तरीय काम नभएपछि आफ्नो नेतृत्वमा स्थानीयवासीले गुणस्तरीय काम गर्न दबाव दिने उद्देश्यले काम रोके पनि चौतर्फी दबाव आएपछि पछाडि हट्न बाध्य भएको उनले बताए ।
‘बालुवामा ग्राभेल हाल्ने काम भएपछि स्थानीयले काम रोके’ शिवनारायणले भने, ‘तर, पछि गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बजेट ‘फ्रिज’ हुन्छ, जसरी भए पनि काममा अवरोध नगर्न चेतावनी दिएपछि आफू बाध्य भएँ ।’ जिल्ला प्रशासन कार्यालय सुनसरीमा आफूले जनप्रतिनिधि र कर्मचारीले कमिसनको लोभमा गुणस्तरहीन काम गरेकोबारे ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
स्टिमेटअनुसार १५ सय मिटरबाटो ग्राभेल गर्नु पर्नेमा १ हजार मिटरमा मात्र बालुवामै ग्राभेल गरी २३ लाख सकाउने काम भएको वडासदस्य शिवनारायणको कथन छ । २३ लाखको योजनामध्ये मुस्किलले १३ लाखको काम भएको र बाँकी १० लाख कागज मिलाएर कर्मचारी र जनप्रतिनिधिले भागबण्डा गरेर खाएको उनको दाबी छ । बजेट फ्रिज हुन नदिन असारमा हतार–हतारमा गुणस्तरहीन काम भएको उनले बताए ।
ठेकेदार नै उपभोक्ता समितिका अध्यक्ष
भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा व्यापक आर्थिक अनियमितता हुनुका साथै काम गर्ने ठेकेदारलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाएको वडासदस्य साह बताउँछन् । भोक्राहा नरसिंह वडानम्बर ६ स्थित इस्राइल कामैतको घरदेखि पूर्वको बाटो बनाउन छुट्याइएको ५५ लाखको योजनामा ठेकेदारलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर आर्थिक अनियमितता गरिएको उनको दाबी छ । माटो पुरेर ग्राभेल तथा कल्भर्ट निर्माण कार्य गरे पनि केही महिनामै भत्किएको साहको भनाइ छ । वडाध्यक्ष र गाउँपालिका अध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राखेर भ्रष्टाचार गर्दै आएको साहको कथन छ ।
३ वर्षको अवधिमा आफ्नो वडामा एउटा पनि ठोस विकास कार्य हुन नसकेको वडानम्बर २ का वडासदस्य श्यामदेव ठाकुर बताउँछन् । उपभोक्ता समितिमार्फत् गुणस्तरहीन काम हुँदै आएको बताउँदै उनले प्राविधिकहरूले कमिसन खाएर बिल पास गरिदिने गरेको आरोप लगाए । ‘भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर २ मा यसवर्ष ५० प्रतिशत पनि काम भएन’ ठाकुरले भने, ‘तर, सबै पैसा निकासा भइसक्यो ।
कामभन्दा कागजात मिलाउने काम मात्र भएका छन् ।’ उनले थपे, ‘हुँदै नभएको काम पास हुन्छ । वडासदस्यलाई हस्ताक्षर गराउने कामबाहेक अन्य काम छैन । आफूले नगरे पनि पाँचमध्ये दुई वा तीनजना वडासदस्यलाई प्रभावमा पारेर हस्ताक्षर गराउँदै आएका छन् ।’ ‘गुणस्तरीय काम भए–नभएको अनुगमन गर्ने निकाय छैन, हामीलाई सदस्य किन बनाएको, न त अनुगमन गर्न पाउँछौं, न त केही गर्न नै सक्छौं’–उनले आक्रोस पोख्दै भने । नेपाल सरकारले उपलब्ध गराएको बजेटको सदुपयोग गरेर ठोस काम हुनुपर्ने उनको भनाइ छ ।
आफू पिछडिएको क्षेत्रको बासिन्दा भएको जनाउँदै वडानम्बर ५ का वडासदस्य अरसद अन्सारीले अपेक्षा गरेअनुसार काम हुन नसकेको र व्यापक भ्रष्टाचार बढेको बताए । ३ वर्षको अन्तरालमा ३ वटा अधिकृत फेरिनुले भोक्राहा नरसिंहमा कतिको भ्रष्टाचार बढेको भन्ने कुरा प्रमाणित हुने उनको बुझाइ छ ।
‘पालिका अध्यक्ष र वडाध्यक्षहरूले एकलौटी रकम हिनामिना र आर्थिक अनियमितता गरेका छन्’ अन्सारीले थपे, ‘तर, केही कुरा गर्न जाँदा तपाईंहरूको काम छैन भनेर हप्काउने गरेका छन् । के उनीहरूलाई मात्र जनताले भोट दिएर निर्वाचित गराएका हुन् ?’ अघिल्लो आर्थिक वर्षमा भएका कार्यहरूका बारेमा खर्च विवरण माग गरे पनि हालसम्म उपलब्ध नगराएको अन्सारी बताउँछन् ।
यता यसबारे प्रतिक्रिया लिन खोज्दा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले अनियमितता नभएको दाबी गरेका छन् । केही जनप्रतिनिधि र जनताले गलत आरोप लगाउने काम मात्र गरेको उनको कथन छ । वडासदस्यहरूले गरेको गुनासोको बारेमा जिज्ञासा राख्दा आक्रामक शैलीमा प्रस्तुत भएका अध्यक्ष यादवले उनीहरूलाई आफ्नो हैसियतमा बस्न चेतावनी दिए ।