धरान/ समाजवादी पार्टीकी सांसद् सरिता गिरीको सांसद् पद गुमेको छ । प्रतिनिधिसभा सचिवालयले गिरीलाई पदमुक्त गरेको हो ।
अबबाट उनको प्रतिनिधिसभा सदस्य पद खारेज भएको छ । पार्टीले नै उनको पद खारेज गर्न आग्रहसहितको निवेदन दिएका आधारमा सांसद् पदबाट निष्काशन गरिएको हो । संसद्का महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै गिरीको समानुपातिक सांसद् पद रिक्त भएको उल्लेख गरे । पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै सांसद् पदबाट निष्काशन गर्नका लागि प्रतिनिधिसभामा पत्र पठाइएको थियो । सोही पत्रका आधारमा पद खारेज गरिएको जनाइएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद् पदबाट खारेज गर्न निर्णय गरेको थियो भने पार्टीका प्रमुख सचेतकमार्फत् संसद् सचिवालयमा पद खारेजीको माग गर्दै पत्र पठाइएको थियो । गत जेठ २७ गते नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।
पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीपलाई सांसद् गिरीले उल्लङ्घन गरेपछि पार्टी त्यस्तो निर्णय गर्न बाध्य भएको थियो । उनले संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गएको कारणले गिरीलाई प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिँदासमेत अस्वीकार गरेपछि पार्टी रुष्ट बनेको थियो । संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधान बमोजिम निर्णय लिएको सूचनामा उल्लेख छ ।