धनकुटा/ लकडाउनको समयमा घरभाडा छुट गरी आर्थिक सङ्कटमा परेर दुःखमा परेकालाई साथ दिने धनकुटा नगरपालिका क्षेत्रका घरधनीहरूलाई उद्योग वाणिज्य सङ्घ धनकुटाले दोसल्ला तथा खादा ओढाएर मङ्गलबार सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा धनपा वडा नं. ३ र ६ का वडाध्यक्षद्वयसहित ७६ जना घरधनीहरूलाई धनकुटाका व्यापारी तथा व्यवसायीहरूलाई आर्थिक सङ्कट परेको बेलामा घरभाडा छुट गरी महŒवपूर्ण सहयोग गरेको भन्दै सम्मान गरिएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष अर्जुन केसी, नेपाल सुन–चाँदी कला व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष शङ्कर ल्वागुनसहित ७६ जना घरधनीहरूलाई सङ्घले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।
सो अवसरमा घरधनीहरूलाई धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङलगायतले दोसल्ला, खादा ओढाएर सम्मान गरेका हुन् । लकडाउनका कारण पूर्णरूपमा व्यापार तथा व्यवसाय बन्द भएका कारण व्यवसायीहरू अहिले आर्थिक सङ्कटमा परेकाले दुुःखमा साथ दिँदै घरभाडा छुट गर्न बाँकी रहेका घरधनीहरूलाई पनि घर भाडा छुट गरी व्यापारीहरूलाई दुःखमा साथ दिन उद्योग वाणिज्य सङ्घ धनकुटाले आग्रह गरेको छ ।