धरान/ धरानस्थित अँधेरी खोलाको पुल निर्माण कार्य बीचैमा रोकिनुमा पुल आयोजना पूर्वी सेक्टर–१ जिम्मेवार रहेको ठेकेदार कम्पनीले बताइरहेको बेला आयोजनाले ठेकेदारकै लापरबाही भएको जनाएको छ ।

यसअघि अँधेरी खोलामा पुल निर्माण कम्पनी मृत सञ्जीवनी एच.के. विल्डर्स जेभिका ठेकेदार हसबुल मियाँले पुल आयोजनाले पैसा नदिएर बीचैमा रोकिएको सञ्चारमाध्यमलाई बताएका थिए । उनले आयोजनाकै कारण पुल निर्माण कार्य रोकिएको र रकम दिए निर्माण कार्य फेरि शुरु गर्ने बताएका थिए । मियाँले पुल निर्माण शुरु गरेको चार वर्षमा चार पिल्लरमात्र निर्माण गरेर गत वर्षदेखि छाडेका छन् ।

अलपत्र पुलबारे ठेकेदार मियाँले पुल आयोजनालाई जिम्मेवार ठहराएपछि ब्लाष्टले पुल आयोजनाका सव–इञ्जिनियर विनिता साहसँग जिज्ञासा राखेको थियो । साहले धरानको अँधेरी खोलाको पुल चारवर्षसम्ममा पनि अलपत्र हुनुमा ठेकेदार मियाँ जिम्मेवार रहेको बताइन् । उनले भनिन्, ‘पुल आयोजनाले अँधेरी खोलाको पुल निर्माण कार्य रोक्नु पर्ने कुनै कारण छैन ।

पिल्लर उठाएपछि ब्यारिङ हाल्न एप्रुभ रिपोर्ट दिनू भनिएको थियो । तर उसको ब्यारिङ पनि ढिलो आयो र रिपोर्ट पनि ढिलो आयो । त्यसैबेला कोरोना महामारी र लकडाउन पनि शुरु भएकाले पुल निर्माण कार्य ढिलो भएको हो ।’

०७४ कात्तिकमा शुरु भएको पुलको लागत ७ करोड ५० लाख रुपैयाँ रहेको छ । १ सय २५ मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको पहिलो दुई वर्षे सम्झौताको म्याद गतवर्ष नै सकिएको थियो । म्याद सकिएपछि आगामी माघसम्मको म्याद थपिएको सव–इञ्जिनियर साहले बताइन् । चार वर्षमा चार पिल्लरमात्र निर्माण गर्ने मियाँले हालसम्म ४५ प्रतिशतमात्र पुलको काम सकेका छन् ।

बाँकी ५५ प्रतिशत निर्माण कार्य सम्पन्न गर्न उनलाई करिब अझै ६ वर्ष लाग्ने देखिएपछि स्थानीय सरोकारवालाहरूले मियाँलाई सरकारले कालोसूचीमा राख्नुपर्ने नत्र तोकिएको म्यादमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु पर्ने माग गरेका छन् ।