पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले खोप लगाउन खोपकेन्द्रमा आएका बालबालिकाका अभिभावकहरुलाई कोरोना भाइरसको सचेतनाका लागि कचहरी नाटक प्रस्तुत गराएको छ ।

नगरको स्वास्थ्य प्रवद्र्धन अभियान अन्तर्गत बुधबार सहरी स्वास्थ्य केन्द्र पथरी र हसन्दह स्वास्थ्य चौकीमा कचहरी नाटक ‘कोरोना’ प्रस्तुत भएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितका जनप्रतिनिधिहरुको आतिथ्यतामा नगरकै ‘शब्द थिएटर’का कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।

विदेशबाट आएर क्वारेन्टिनमा नबसेको, कोरोना भाइरस मार्नका लागि भन्दै रक्सि पिएको, कोरोनाबाट बच्न सजकता नअपनाएको तथा कोरोनाबाट ज्यादै त्रसित भएर मानसिक असर समेत परेको विभिन्न पक्षलाई नाटकमा उतारिएको थियो । दर्शकहरुकै सुझावका आधारमा कोरोनाबाट बच्ने सजकता अपनाउने कुरामा कचहरी गरिएको थियो ।

कोरोनाको त्रास होइन सजकता अपनाऔं, मास्क, सेनिटाइजर लगाऔं, सामाजिक दूरी कायम गरौं, साबुनपानीले मिचीमिची हात धोऔं र आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाह गरिएको थियो ।

भूपेन्द्र तिम्सिनाको लेखन, जीवन वरालको निर्देशन, सरोज तिम्सिनाको प्रवन्ध सहितको अभिनयमा मेनुका कुलुङ र लीला कुलुङ सामेल थिए ।

यसैबीच, शब्द थिएटरले पहिलो पटक देशव्यापी रुपमा खुला अनलाइन नाटक प्रतियोगिताको आयोजना गरेको छ । १० मिनटसम्मको नाटकको भिडियो तयार पारेर पठाउने प्रावधान बनाइएको प्रतियोगितामा असार २५ सम्म नाटक पठाइसक्नुपर्ने र २९ गते फाइनल गरिने थिएटर निर्देशक जीवन बरालले जनाए । पथरी शनिश्चरे नगरपालिकाको सहकार्यको प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने छ ।

नगरपालिकाकै सहकार्यमा नगरको कला साहित्य प्रवद्र्धन समितिमार्फत नगरस्तरीय लोकनृत्य प्रतियोगिताको पनि आयोजना गरिएको छ । २ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए ।