•  रमेश थापा

यासोक / पाँचथर कुम्मायक गाउँपालिका–१ का खेमराज निरौला घाँस बिक्री भएको देख्दा आफै अचम्मित छन् ।
कुम्मायकमा घाँसबाट आम्दानी लिने उनी एक्ला हुन् । एक वर्षअघि डेढ रोपनी खेतमा लगाएको घाँस अहिले आम्दानीको स्रोत बन्दा आफै अचम्मित बनेका हुन् । पहाडी भेगमा पनि घाँस बिक्री भएको पाउँदा उनी छक्क परेका हुन् । उनले एक वर्षअघि उन्नत प्रजातिको सुपर नेपियर, साम्भा सेटरिया नामक घाँस रोपेका थिए । जसबाट ४० हजार रुपैयाँ कमाइ गरिसकेका छन् । अझै पुग नपुग ४० हजार रुपैयाँ हातमा आउनेमा ढुक्क छन् ।

बाख्रापालक किसानका लागि घाँस अति उपयोगी हुने भएपछि उनी घाँस बिक्री गरेर गाउँमा चिनिन थालेका छन् । गाउँघरमा प्रशस्तै घाँस पाइने भए पनि निरौलाले भने घाँस बेचेर घरको गर्जो टार्न थालेका छन् । उनीकहाँ घाँस किन्न वल्लोपल्लो गाउँबाट मानिसहरू आउन थालेका छन् । नयाँ प्रजातिको घाँस भएकाले कतिपय त हेर्नसम्म आउने गरेको उनी बताउँछन् । निगाले कृषि सहकारी संस्थाले कृषकलाई वितरण गर्न ४० हजार रुपैयाँ बराबरको घाँस किनेर लगेको उनले बताए ।

त्यो घाँसका लागि उनले एक वर्षअघि १५ हजार रुपैयाँ लगानी गरेका थिए । झापा र गाउँपालिकाको कृषि शाखाबाट १० हजार बिरुवा ल्याएर रोपेका उनले अहिले घाँसलाई आम्दानीको स्रोत बनाएका छन् । बारीको कान्लामै रोपे पुग्ने भएपछि घाँस जीविकोपार्जनको स्रोत बन्ने उनले देखेका छन् । गाउँमै यासोक व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका उनले २० वटा बोयर जातका बाख्रा पालन गरिरहेका छन् । यी प्रजातिका घाँसमा ३० प्रतिशतसम्म पौष्टिक तŒव हुने जानकारी उनले पाएका छन् ।

अहिले कतिपय निरौलाकहाँ घाँसको बिउ लिनका लागि पुग्ने गरेका छन् । घाँस एक वर्षमा तीनदेखि चार पटकसम्म काट्न मिल्ने उनले बताए । आफ्नो बाख्राको लागि घाँस रोपे पनि अहिले आम्दानी हुन थालेपछि उनी मख्ख छन् । अझै बारीमा घाँस खेती थप्ने योजना रहेको उनी सुनाउँछन् ।