धरान /  लकडाउनको अवधिमा घरभाडा छुट दिने धरानका घरधनीलाई सुनसरी उद्योग वाणिज्य सङ्घले सम्मानित गरेको छ ।
कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनले समस्यामा परेका व्यापारीलाई घरभाडा छुट दिने धरानका ४१ जनालाई सम्मानित गरिएको हो । लकडाउनको अवधिमा ९० दिनसम्म घरभाडा छुट गर्ने ४१ जना घरधनीलाई सम्मानित गरिएको कार्य समिति सदस्य विष्णु बरालले जानकारी दिए ।

सम्मानित हुनेमध्ये पहिलो धरान उपमहानगरपालिका रहेको छ । धरान उपमहानगरले भाडामा लगाएको व्यावसायिक कोठाहरूको भाडा छुट गरेको थियो । त्यस्तै धरान उपमहानगरका प्रमुख तिलक राईका पत्नी रीना राई पनि सम्मानित भएकी छन् । सम्मानित हुनेमा बीपी प्रतिष्ठानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, सुनसरी उवासङ्घका पूर्वअध्यक्ष पवनकुमार अग्रवाल, कार्य समिति सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभु श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी सुनसरीका मन्त्री मुकुल कायस्थ, मेन्याङ्बो कल्याणकारी सङ्घ, समाजसेवी पिङ्गला न्यौपानेलगायत छन् ।

उनीहरूले ४५ देखि ९० दिनसम्मको घरभाडा छुट गरेका थिए । सम्मानित हुनेहरूलाई धरान नगरप्रमुख तिलक राई, सुनसरी उवासङ्घका अध्यक्ष गिरिधारी सापकोटालगायतले सम्मान–पत्र प्रदान गरेका थिए । नगरप्रमुख राईले कुनै पनि निकायले घरभाडा छुट दिँदा स्वघोषित रूपमा दिए घरधनी र भाडावालबीच सौहाद्र्रपूर्ण वातावरण बन्ने बताए । सुनसरी उवासङ्घले घरभाडा छुट दिने घरधनीहरूलाई धन्यवाद ज्ञापन गरेको थियो ।