धरान । युएन कलेजले धरान–१६ को नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको स्वामित्व ग्रहण गरेको छ ।

नवोदयको स्वामित्व ग्रहण गरिएसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन हुने भएको छ । यसअघि कलेज र स्कुलमा सञ्चालक समितिभित्र एकै पदाधिकारीहरू रहे पनि फरकफरक सञ्चालक थिए । यसअघि गजेन्द्र आचार्यको स्वामित्वमा स्कुल सञ्चालन भइरहेको थियो । युएनले स्वामित्व ग्रहण गरेलगत्तै स्कुलको पोसाक परिवर्तन गर्ने निर्णय गरेको छ । अन्य कुरा भने यथावत राखिने भएको छ ।

नवोदय विद्या मन्दिरका प्रअसमेत बनेका युएन कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोले भने,–‘स्कुल पनि युएनकै स्वामित्वमा आएकाले हामीले युनिफर्म चाहिँ परिवर्तन गर्ने निर्णय गरेका छौं तर पहिलो वर्ष अभिभावकको आर्थिक भारलाई मध्यजनर गर्दै स्कुलले नै युनिफर्म दिनेछ ।’

उनका अनुसार स्कुल चाहिँ हाल सञ्चालित भवनबाट नै सञ्चालन हुने छ । समयसापेक्ष शिक्षा र गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्कुलको स्वामित्व पनि कलेजले नै लिएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झाले बताए । उनले भने,–‘हाम्रो उद्देश्य गुणस्तरीय शिक्षा दिने भन्ने हो, यो कुरामा हामी प्रतिवद्ध छौं ।’

अहिले कोभिड १९ को महामारीका कारण यस वर्ष शैक्षिक सत्र प्रभावित बनेको छ । क्यालेण्डर अनुसार वैशाखदेखि नै नयाँ शैक्षिक सत्र सञ्चालन हुनुपर्ने हो । लकडाउनका कारण पढाइ ठप्प बनेपछि स्कुलले माथिल्लो कक्षाका विद्यार्थीहरूलाई ‘डिजिटल’ प्रविधिबाट अध्यापन गराउने तयारी थालेको छ । स्कुलमा हाल ४५० विद्यार्थीहरू अध्ययरत छन् ।