• अनिल श्रेष्ठ

विराटनगर / विराटनगर महानगरपालिका–१० पीपलचौकमा कालोपत्रे गरिएको ‘शाही मार्ग’ को सडक गुणस्तरहीन निर्माण भएको कारण रोकिएको स्थानमा टिपर भासिएको छ । एशियाली विकास बैङ्कको सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत निर्माण भएको शाही मार्गको पिच गरिएको सडकमा रोकेको टिपर सोमबार साँझ भासिएको हो ।

एक वर्षअगाडि कालोपत्रे गरिएको उक्त सडकमा टिपरको पछाडिको भागको चक्का ५ फिट गहिरोमा भासिएको थियो । क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गतको सडक निर्माणको ठेक्का पाएको आशिष निर्माण सेवाले गुणस्तरहीन सडक निर्माण गरेको कारणले रोकिएको स्थानमा टिपर भासिएको स्थानीयको भनाइ छ । १० मिटरचौडाइ रहेको उक्त सडकमा बालुवा बोकेको को.१ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा भासिएको हो । भासिएको टिपर सोमबार राति महानगरपालिकाले डोजर प्रयोग गरी निकालेको थियो ।

निर्माण कम्पनीको चरम लापरबाही र गुणस्तरहीन कामले गर्दा टिपर भासिएको विराटनगर–१० का सन्तोष दासले बताए । ‘सडक निर्माणको शुरूवातमा सवबेस बनाउँदा राम्रो नगरेको कारणले अहिले यस्तो समस्या आएको हो’ उनले भने, ‘गाइड लाइन विपरीत काम भएकोले सडक गुणस्तरहीन भएको हो ।’
विराटनगर–१० मा सबैभन्दा बढी क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत सडक निर्माण भइरहेको छ । साना–ठूला गरी १ सय ३ वटा सडक रहेको सो वडाका अधिकांश सडकको ठेक्का आशिष निर्माण सेवाले पाएको विराटनगर–१० का वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिए । उनका अनुसार परियोजना अन्तर्गत सञ्चालन भएको ९५ प्रतिशत सडक निर्माण कार्य पूरा भएको बताए । निर्माण कम्पनीको सम्झौता अवधि बाँकी नै भएकोले भत्किएको सडक निर्माण कम्पनीले बनाउन शुरू गरेको वडाध्यक्ष वाग्लेले बताए ।

आशिष निर्माण सेवाका इञ्जिनियर रविन्द्रकुमार ठाकुरले पुराना खानेपानीको पाइप जमिनमुनी देखिएकोले प्राविधिक त्रुटि भएकोे हुँदा यस्तो समस्या आएको बताए । ‘पानीको लियरले गर्दा समस्या देखिएको हो’ उनले भने, ‘अहिले हामीले निर्माण कार्य थालेका छौं ।’ मुख्य कारण पत्ता लगाएर सधैँको लागि समस्या अन्त्य गर्न पनि निर्माण कम्पनी लागिपरेको उनको भनाइ छ ।

यता क्षेत्रीय शहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले निर्माणको क्रममा प्राविधिक त्रुटि देखिएकोले निर्माण कम्पनीले बनाउन निर्देशन दिइसकेको बताए । ‘यस सडकको बीचबाट ढलको पाइप पनि बिछ्याइएको छ’ उनले भने, ‘काम गर्ने क्रममा प्राविधिक त्रुटि आउन सक्छ । पुनः राम्रो काम गर्न हामीले निर्देशन दिएका छौं ।’ विराटनगर–१० मा एक वर्षअगाडि पनि सडकको पिच भासिएको थियो । विभिन्न स्थानमा भासिएको सडक मर्मत गरिएको उनको भनाइ छ ।