धनकुटा । साँगुरीगढी गाउँपालिका-६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राती बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ  जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रित  भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर भएकाे दुर्घटनामा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका-९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

अनियन्त्रित भइ सडकबाट तल खस्ने क्रममा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्‍याई छ । उक्त दुर्घटनामा कल्पना सुब्बाककी १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको कार्यालयले जनाएकाे छ ।

घुमाउरो र ओरालो सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर मालवाहक ट्रक दुर्घटना भएको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् । दुर्घटना पश्चात ट्रकका सह–चालक भने फरार भएका छन् ।