धरान / स्थानीय समुदायको हितमा कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेनले चासो नदिँदा बर्सेनि करोडौं रुपैयाँबराबरको धनमालको क्षति हुने गरेको र कतिपयको ज्यान जाने गरेको वराहक्षेत्रका बासिन्दाले आरोप लगाएका छन् ।
गत सातादेखि वराहक्षेत्र नगरको दक्षिणी भेगका मधुवन, प्रकाशपुर र राजाबासका बस्तीमा आरक्षबाट निस्केका ११ वटा जङ्गली हात्तीले आतङ्कित बनाएको जनप्रतिनिधि र स्थानीय समुदायले बताएका छन् । उनीहरूले कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेनले स्थानीय समुदाय, स्थानीय तह र जनप्रतिनिधिसँग कुनै समन्वय र सहकार्य नगर्दा बर्सेनि ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परेको बताए ।

शनिबार राति आफ्नो पक्की घर जङ्गली हात्तीले भत्काइदिएको मोहन मेहताले बताए । उनले आरक्षबाट कुनै पनि जङ्गली जनावर बाहिर निस्कन नदिने गरी आरक्षले व्यवस्था नगरेको बताए । उनले भने, ‘खेतबारीमा लगाएको धान, मकै र अन्य नगदेबाली आरक्षका जङ्गली जनावरका लागि भएको छ । कुन बेला कतिखेर मार्ला भन्ने पीर पनि उत्तिकै छ । तर हाम्रो कुरै सुन्दैनन् आरक्षका पदाधिकारी ।’

वराहक्षेत्र नगरपालिकामा आरक्षका जङ्गली जनावरबाट सुरक्षाको माग गर्दै डेलिगेसन आएका उनीहरूले तत्काल केही उपाय निकाल्नु पर्नेमा जोड दिएका छन् । वराहक्षेत्र–११ मधुवनका वडाध्यक्ष केदार विष्टले भने, ‘लामो समयदेखि आरक्ष आसपासका बासिन्दाले अनेक दुःखका साथ जङ्गली जनावरको त्रास व्यहोर्दै आएका छन् । स्थानीय समुदाय रातदिन त्रसित भएर बस्नुपरेको छ । तर आरक्षले समन्वय र सहकार्य गर्न चासो नदिँदा पीडित हुनुपरेको छ ।’ उनले मधुवन क्षेत्रमा मात्र आरक्षका हात्ती र जङ्गली जनावरले वर्षमा करिब सवा करोड रुपैयाँ बराबरको धनमाल र घरको क्षति पु¥याउने गरेको बताए ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कले स्थानीय बासिन्दा आजित भएको बताए । उनले आरक्षका वार्डेनले स्थानीय तहसँग सहकार्य र समन्वय नगरेसम्म समस्या समाधान नहुने बताए । उनले भने, ‘वराहक्षेत्रको मुख्य समस्या नै आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्क हो । किसानहरूले लगाएका बालीनाली खाइदिने, कुल्चने, घर भत्काइदिने, घरमा भएका अन्नबाली खाइदिने, मान्छेलाई आक्रमण गर्ने, घाइते अपाङ्ग बनाइदिने, मारिदिने गरेकाले आरक्षलाई व्यवस्थित बनाउन सुझाव दिँदै आए पनि सुनेका छैनन् ।’