पथरीशनिश्चरे /  मोरङको पथरी शनिश्चरे–७ मा कालोपत्रेमाथि नै कालोपत्रे गरिएपछि नगरपालिका कार्यालयले सो काममा रोक लगाएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाको अगुवाइमा अनुगमन समितिले प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट थालिएको कालोपत्रेको काम लापरबाहीपूर्वक भएको भन्दै सोमबार रोक लगाएको हो ।

पथरी–डाइनिया सडक अन्तर्गतको सम्झना चौकदेखि मायालुचोकसम्मको ७ सय मिटर लम्बाइमा कालोपत्रेका लागि प्रारम्भिक चरणको काम थालिएको भए पनि पहिलेको उप्किएर बाँकी रहेको कालोपत्रे नै नउप्काई त्यसैमाथि गिट्टी हालेको पाइएको छ । तलको सबै भाग उप्काएर ‘स्केरीफाई’ गर्नुपर्नेमा त्यसो नगरी पहिलेको कालोपत्रेको भागलाई त्यसै छाडेर माथि–माथि गिट्टी हालेर गुणस्तरहीन काम गरेको जानकारी पाएपछि तत्काल काम रोक्न लगाइएको नगर उपप्रमुख बास्तोलाले जनाइन् ।

त्यहाँ ‘स्केरीफाई’ नगरेको, सवबेस नगरी बेसको मापदण्ड विपरीतको गिट्टी प्रयोग गरेको तथा ग्रेडिङसमेत नगरेकोले सरासर गलत काम भएको पाइएको उनले उल्लेख गरिन् । उनले सङ्घ, प्रदेश, नगर वा कुनै निकायले नगरभित्र काम गर्दा गुणस्तरीय काम गर्न अनुरोध गर्दै सबैलाई अनुगमनमा कडाइ गर्दै आएको बताइन् । ‘नगरमा जसले काम गरे पनि यसरी लापरबाही गरेर बजेट सक्ने खेल खेल्नु हुँदैन । तत्काललाई काम रोकेर ‘स्केरीफाई’ सहित गुणस्तरीय काम गर्न हामीले भनेका छौं’– उनले कडाशैलीमा भनिन् । नगरको प्राविधिकसहितको टोली त्यहाँ पुगेर अनुगमन गरेको थियो । सव बेस गर्नुपर्ने उल्लेख भएको सम्झौताको पाना नै च्यातिएको समेत नगरका प्राविधिक पक्षको दाबी छ ।

प्रदेशको पूर्वाधार कार्यालयमार्फत् वल्र्ड ट्रेड कन्स्ट्रक्सन दमक झापाले ठेक्का लिएको सो योजनाका बारेमा डिभिजन इञ्जिनियर सुशील श्रेष्ठले त्यस्तो कमजोरी भएको भए त्यसलाई सच्याउन लगाउने जवाफ दिएका छन् । उनले आफू कार्यालयबाट बाहिर रहेकाले सो सडकको बजेटबारे आफूलाई थाहा नभएको बताए । ठेकेदार कम्पनीका पशुपति बरालले बजेट बताउन चाहेनन् । ठेकेदार पक्षले ‘स्केरीफाई’ गरेको तर कहीँ छुटेको हुनसक्ने भन्दै झुटो कुरा गरेको थियो ।