धरान । धरानको सर्दु र खर्दुको पानी नगरबासीलाई वितरण गर्न निर्देशन दिएको दुई दिन नबित्दै पानीको स्रोतको अवस्थाबारे नगर प्रमुख तिलक राईले आज निरीक्षण गरेका छन् ।

नगर प्रमुखले सर्दुको मुहानसँगै नेपाल खानेपानी संस्थान धरान शाखा र एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) ले निर्माण गरेको फ्लकुलेसन र सेडिमेन्टेसन क्षेत्रको निरीक्षण गरेका हुन् । संस्थान धरानको खानेपानी व्यवस्थापन बोर्डमा ल्याउने तयारी भइरहेको छ । त्यसका लागि नगर प्रमुख राईले विज्ञ समूह बनाएर सोही समूहले दिएको प्रतिवेदनको आधारमा बोर्डमा हस्तान्तरण गर्ने तयारी थालेका छन् । सातौं नगरसभा पूर्व बसेको कार्यपालिकाको बैठकबाट विज्ञ समिति बनाएर संस्थानलाई बोर्डमा ल्याउने नगर प्रमुख राईले बताइसकेका छन् ।

दुई दिनअघि मात्रै आयोजनाले निर्माण गरेको १ करोड ६० लाख लिटर क्षमताको ¥यापिड स्याण्ड फिल्टर सञ्चालन गर्न थालिएको थियो तर पानी वितरण भने भइसकेको थिएन । सर्दुबाट दैनिक १ करोड ५० लाख लिटर र खर्दुबाट दैनिक १ करोड लिटर पानी आपूर्ति हुने गरेको संस्थानका प्रमुख इञ्ज्निियर रामकुमार श्रेष्ठले बताए । उनले संस्थानका भौतिक संरचनाहरूको जानकारी र मुहानको अवस्थाबारे नगर प्रमुखलाई जानकारी गराएको बताए । नगर प्रमुख राईले सतहगत खानेपानीको मुहानको अवस्था साथै फ्ल्कुलेसन र सेडिमेन्टेसनको अवस्थाबारे निरीक्षण गरिएको बताए ।

tilak_rai 3

तस्बिरः उपेन्द्र चाम्लिङ