•  मिकाइल आलम

भण्टाबारी / भारतको युपी राज्यमा बन्दी बनाइएका १८ जना नेपाली नागरिक घर फर्केका छन् ।
केही महिनाअगाडि सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित जाजरबाट भारतको दिल्ली पुगेका उनीहरूलाई उत्तर प्रदेशको बागपत जिल्लाको खेकडा जेलमा बन्दी बनाइएको थियो । उनीहरू आइतबार आ–आफ्नो घर फर्केका हुन् । उत्तर प्रदेशको बागपत भन्ने जिल्लाको खेकडा जेलमा बन्दी बनाइएका कोशी गाउँपालिका क्षेत्रका १७ सहित १८ जना नेपाली जमातीलाई कोशी गाउँपालिकाको आग्रहमा परराष्ट्र मन्त्रालयले उनीहरूको उद्धार गरेको हो ।

भारतको दिल्लीस्थित तबलिगी जमातबाट घर फर्किने क्रममा त्यहाँ प्रशासनले लकडाउन उल्लङ्घन गरेको भन्दै २७ दिनसम्म बन्दी बनाएको थियो । सोही क्रममा एकजना जमातीले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई म्यासेज पठाएपछि उनीहरूलाई उद्धार गर्न प्रक्रिया अगाडि बढाइएको थियो । कोशी गाउँपालिका वडानम्बर ३ र  ८ का गरी १७ जना तथा सप्तरी घर भएका एक जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् उद्धार गरिदिन आग्रह गरेपछि परराष्ट्र मन्त्रालयको पहलमा उनीहरूको उद्धार गरी १४ दिन क्वारेण्टिनमा राखेर पिसिआर टेष्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

उनीहरूलाई भारतीय जेलबाट नेपाल ल्याउन कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीका साथै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सङ्घीय सांसद् तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समेत पहल गरेका थिए ।
७ लाख जरिबाना तिराइयो
भारतको उत्तर प्रदेश राज्यको जेलमा बन्दी बनाइएका १८ जना नेपाली जमातीबाट त्यहाँका प्रशासनले ७ लाख जरिबाना तिराएको बताइएको छ । भारतमा बन्दी बनाइएका कैयुम मियाँका अनुसार त्यहाँको मुख्य न्यायिक मजिष्ट्रेट बागपतले ७ लाख जरिबाना तिराई छाडेको हो । आफूहरूउपर त्यहाँ फौजदारी मुद्दा अन्तर्गत कोरोना सङ्क्रमण फैलाएको भन्ने झुठो आरोप लगाइएको उनले बताए ।

सप्तरीबाट १३ मार्चमा दिल्लीको काली मस्जिद पुगेका ती जमातीहरूलाई लकडाउन भएपछि घर फर्किंदै गर्दा भारतको बालेनी भन्ने स्थानमा ५२ दिन क्वारेण्टिनमा राखियो । क्वारेण्टिनबाट निकालिएपछि उनीहरूलाई मे २१ तारिखमा बागपतको एक जङ्गलबाट नियन्त्रणमा लिई जेलमा राखियो । जङ्गलबाट जबर्जस्ती हिरासतमा लिई जेल पठाउने काम गरिएको अर्का जमाती यासिन मन्सुरीले गुनासो गरे ।

एक छाक खानामै बित्यो २७ दिन
भारतीय प्रशासनले आफूहरूलाई अनावश्यक निराधार आरोप लगाई जेलमा राख्नुका साथै जेलमा समेत अमानवीय व्यवहार गरेको नेपाल फर्किएका जमातीहरू बताउँछन् । ‘हिरासतमा दिनको एक छाक खान मात्र दिइन्थ्यो’ उनले भने, ‘त्यसरी नै हाम्रो २७ दिन बित्यो । हामी नेपालीलाई निकै अमानवीय व्यवहार भारतीय प्रशासनले ग¥यो, खाने बस्ने केही सुविधा थिएन, गएको २७ दिन जिन्दगीकै सबैभन्दा खराब क्षण रह्यो ।’ एक छाक खानामा डढेको रोटी र पानी बराबरको दाल दिएको उनले बताए ।

जेल अवधिभर उज्यालो हेर्न नपाएको बताउँदै यासिनले जमाती भएकै कारण भारतीय प्रहरीले मानसिक यातना दिँदै अपराधीसरह व्यवहार गरेको गुनासो गरे । जेलको खाना खाएर जमाती बिरामी पनि परेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई पठाएको म्यासेजकै कारण आज घर फर्केको बताउँदै रहमतुल मियाँले नेपाल ल्याउन पहल गर्ने सबैमा धन्यवाद दिए ।

उनीहरूलाई भारतबाट पिसिआर टेष्टपछि असार ४ गते नेपाल फर्काइएकोमा कोशी गाउँपालिकाले पुनः उनीहरूलाई १० दिन क्वारेण्टिनमा राखी पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको कोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जमिल अन्सारीले जानकारी दिए । ती सबै जमातीलाई कोशी गाउँपालिका वडानम्बर ४ स्थित मदरसा मिफताहुल उलुममा क्वारेण्टिनमा राखिएको थियो । भारतीय जेलबाट नेपाली नागरिक उद्धार गर्न सङ्घीय सांसद्का साथै परराष्ट्र मन्त्रालयले अहम् भूमिका निभाएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।