विराटनगर / प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले प्रदेश १ को कोरोना रोकथाम र नियन्त्रणमा हालसम्म भएका खर्च सार्वजनिक गराउन प्रदेश सरकारलाई दबाव दिएपछि खर्च विवरण सार्वजनिक भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै काङ्ग्रेसले सोमबार सदन अवरोध गरेपछि आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना रोकथाम र नियन्त्रणसँग सम्बन्धित खर्च मङ्गलबार बसेको प्रदेशसभाको बैठकमार्फत् सार्वजनिक गरेका हुन् ।

मन्त्री कार्कीले कोरोना जनसुरक्षा कोषमा जम्मा भएको २९ करोड ५१ लाख ७३ हजार रुपैयाँमध्ये १९ करोड ८२ लाख ७१ हजार १ सय ७० रुपैयाँ निकासा भएको जानकारी गराए । कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत् पठाइएको उनले बताए । कार्कीले सार्वजनिक गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी उनले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बढी निकासा भएको देखिएको छ ।

जसमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत् १५ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो । यस्तै सामाजिक विकास मन्त्रायललाई २ करोड ४८ लाख ७१ हजार, मुख्यमन्त्री कार्यालयलाई ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २ करोड रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको हो । अब कोषमा ९ करोड ६९ लाख १ हजार ९ सय ७२ रुपैयाँ मौज्दात रहेको छ । कार्कीले प्रदेश सरकारले क्वारेण्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जानकारी दिए । प्रदेश सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार मन्त्रालयगत रूपमा बजेट निकासा भएको उनले बताए । कार्कीले मुख्यमन्त्री, मन्त्री, सांसद्, सर्वसाधारण, बैङ्क आदि क्षेत्रले कोरोना जनसुरक्षा कोषमा रकम सहयोग गरेको र कोषबाट रकम खर्च गरिएको जानकारी दिए ।

‘आन्तरिक लेखा परीक्षणपछि प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्नेछ’ उनले भने, ‘सम्बन्धित मन्त्रालयले कुन(कुन शीर्षकमा खर्च गरे भन्ने मन्त्रालयगत रूपमा पनि आउनेछ ।’ २० करोड ३२ लाख रुपैयाँ निकासा गरेको प्रदेश सरकारले १९ करोड ८२ लाख खर्च भएको जनाएको हो ।
प्रदेश १ मा हालसम्म ४ सय ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।