धरान / सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खस्दा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएको स्थानीयले जानकारी दिएकाछन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको संखुवासभा प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएकोछ । बोक्लो रुपमा सशस्त्र प्रहरी तथा जनपथ प्रहरी त्यस तर्फ पठाइएको छ ।

प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युतगृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय धनकुटाले पनि अरुण नदि थुनिएर एकै चोटी पानीबगेर आउदा धनकुटाका अरुण नदि आसपासका गाउँपालिकाका बासिन्दा प्रभावित हुने भन्दैं सचेत रहन आवहा्न गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले धनकुटाका ४ पालिकाका नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेका छन् । उनले महालक्ष्मि नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभुमी गाउँपालिका र साँगुरीगढाी गाउँपालिका नदी तटीय क्षेत्रमा विपत आउने सक्ने भन्दै जोगिन आग्रह गरिएको जानकारी दिए ।

मनसुन सक्रिय
केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो। महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

ती क्षेत्रहरुमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।