धरान । धरानका सञ्चारकर्मीलाई कोभिड १९ बाट सृजित तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गराइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्तासमेत रहेका मानसिक रोग विभागका डा. निदेश सापकोटाले सहजीकरण गरे । उनले तनाव के कसरी सिर्जना हुन्छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराएका थिए ।
तनाव बाह्य र आन्तरिक कारणले हुने भएकाले तनाव व्यवस्थापनका लागि योगा, ध्यान र विपस्यना महत्त्वपूर्ण पाटो रहेको बताए । कोभिड १९ ले विश्वभर नै समस्या सिर्जना गरेकाले अहिले मानसिक समस्या धेरै हुने सम्भावनालाई मध्यनजर गर्दै आयोजक रूपान्तरण नेपालले अभिमुखीकरणको व्यवस्था गरेको थियो । आयोजक संस्थाकी अध्यक्ष सविता राईले कोरोनाले पत्रकारहरूलाई विभिन्न मानसिक समस्याबाट गुज्रिरहनु परेकाले तनाव व्यवस्थापन सहज रूपमा कसरी गर्न सकिन्छ भनेर अभिमुखीकरण कार्यक्रम राखिएको बताइन् ।
कार्यक्रमको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गर्दै यो बेलामा कोरोनाबाट बच्नका लागि भौतिक दूरी आवश्यक रहेको बताए । उनले लकडाउनपूर्व मानिसमा कोरोनाप्रतिको जुन डरत्रास रहेको थियो त्यो अहिले नरहेको पाइएकाले अब झनै डराउनु पर्ने अवस्था रहेको बताए । नेपालमा कोरोनाबाट २२ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसकेका छन् ।
कोरोनाले सबैभन्दा बढी रोजगार गुम्ने र जीविकोपार्जनमा समस्या भएकाले पनि तनाव सिर्जना भइरहेको छ । एशियाली विकास बैङ्कले कोरोना कारण विश्वभर करिब २ करोड ५० लाख मानिसले रोजगार गुमाउने अवस्था रहेको उल्लेख गरेको छ । त्यसक्रममा पत्रकारहरूलाई बाहिर हिँडडुल गर्दा प्रयोग गरिने अतिआवश्यकीय स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।