उर्लाबारी/निरु ढाका उद्योग उर्लाबारीले विपन्न परिवारका ६ जना महिलालाई निशुल्क तालीम प्रदान गरी आत्मनिर्भर बनाएको छ । शुल्कको अभाव भएकाहरुको लागि तालिम वरदान सावित भएको सहभागीहरुले बताएका छन ।

सो उद्योगका संचालिका निर्मला चौहानले आफनो जन्म दिनको अवसरमा शुक्रबार उर्लाबारी–७ का ६ जना  महिलाहरुलाई ६० हजार शुल्क वरावरको ढाकाको टोपी र साडी बनाउने तालिमको शुल्क छुट् गरी प्रमाण–पत्र समेत प्रदान गरेकी हुन । यसरी सिप सिक्नेहरुमा उर्लाबारी–७ का सविता घिमिरे (बिक), नरमाया रोक्का, पवित्र विक लगायतका महिला रहेका छन ।

संचालिका चौहानले आफुले पनि एक दशक अघि पैसाको अभावमा ढाकाको कपडाबाट साडी, टोपी, दौरा सलवार, कुर्ता सलवार, पर्स सहित सवै किसीमको सिप सिकेर उद्यमी भएकोले समाजमा क्षमता भएका तर आर्थिक अभावमा सिप सिक्न नसक्ने महिलाहरुलाई उक्त तालीम दिएर आत्मनिर्भर  बनाएको बताएकी छन ।

नगरको गरिमा उच्च पार्ने ७० लाख लगानी गरी संचालनमा रहेको उक्त ढाका उद्योगले हाल ६२ जना स्थानिय महिलालाई रोजगार सृजना गरेको छ । उक्त उद्योगले उत्पादन गरेका ढाकाजन्य सामाग्रीहरु अमेरिका,युरोप सहितका देशहरुमा आफना उत्पादन निर्यात गर्दै आएको संचालिका चौहानले बताएकी छन ।