धरान । एउटै सडकमा फरकफरक मापदण्डमा सडक निर्माण गरेको भन्दै धरान–८ बरगाछीका स्थानीयले कोशी राजमार्ग अन्तर्गतको बरगाछी सडक खण्ड निर्माण कार्य रोकेका छन् ।

ठेकेदार कम्पनी साह निर्माण सेवाले धरान–८  को प्रहरी चौकीदेखि भोटेपुलसम्मको सडकमा फरकफरक मापदण्डमा सडक निर्माण गरेको भन्दै निर्माण कार्य रोकिदिएका हुन् । प्रहरी चौकीदेखि बरगाछीसम्म एउटा मापदण्ड र बरगाछीदेखि भोटेपुलसम्म अर्को मापदण्डमा सडक बनाएकाले काम रोकिदिएको स्थानीय कृष्ण पाठकले जानकारी दिए । उनले भने, ‘भोटेपुलदेखि बरगाछीसम्म ड्रेनदेखि ड्रेनसम्मै पीच गरेर ल्याएको छ, यता चाहिँ चौडाइ पनि कम छ, पीच जति गर्नुपर्ने हो त्यति भएको पनि छैन ।’ उनले टालटुले काम मात्रै गरेको बताए ।

अर्का स्थानीय नवीन पराजुलीले पनि बरगाछी भन्दा माथि करिब १२ मिटर पीच गरेको र बरगाछी भन्दा तलतिर ९ मिटर मात्रै गर्ने भनेर भनेपछि काम रोकिदिएको बताए । ‘बरगाछी भन्दा माथि चाहिँ ९० फुटको बाटो छ, तलतिर चाहिँ छैन, माथ्लोपट्टि जति छ त्यति नै हुनुप¥यो भन्ने स्थानीयको माग हो’–उनले भने ।

यस विषयमा धरान उमपहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई पनि बोलाएर बाटोको विषयमा ठेकेदार पक्षसँग छलफल गर्नका लागि आग्रह गरिएको उनले बताए । यता साह निर्माण सेवाका सञ्चालक जयप्रकाश साहले बरगाछी भन्दा माथि जति मात्रामा पीच गरिएको छ तल पनि सोही अनुसार नै हुने दाबी गरे । उनले भने, ‘बजाज शोरूम भन्दा मुनीतिर नाला बनाउन बाँकी छ, नाला खनिसकेपछि त्यहाँ पनि माथिकै जस्तो बनाउने हो ।’ उनले खासमा आफूहरूले सडक विभागबाट ९ मिटरको मात्रै ठेक्का पाए पनि धरान उपमहानगरका मेयर, उपमेयरको आग्रहमा ड्रेन टु ड्रेनसम्मै पीच गरिदिन आग्रह गरेकाले पीच गरिएको बताए ।

उनले माथिको र तलको काम मापदण्ड अनुसार नै हुने भएकाले स्थानीयबासीलाई काम नरोकि दिन आग्रह गरे । उनले केही स्थानमा ड्रेनको पानीले नै सतह बगाएकाले समस्या भएको बताए ।