भद्रपुर / दक्षिणी कचनकवल गाउँपालिका ५ स्थित साविक पाठामारी फुलबारी बस्ती छेउमा निर्माणाधिन बाँध तथा झोडा पुलका कारण दर्जनौं घर डुवानमा परेका छन् ।
तीन वर्ष अगाडि साविकको जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पुल वारिपारि सडकसित जोड्न गतवर्षबाट थालिएको बाँध निर्माणले फुलबारी बस्ती डुबानमा परेको हो । प्राविधिकले पानीको निकास दिने गरी खोलाको बहाव क्षेत्र समेट्न नसक्ने नक्साङ्न गरिदिएका कारण बस्तीमा डुबान समस्या आएको हो ।
बाँध निर्माण थालिएपछि गत वर्षदेखि वर्षादमा हजारौं विगाह जमिन डुवानमा पर्न थालेको पीडित स्थानीय रविना खातुनले बताइन् । यस वर्ष पनि पानीको निकास बन्द भएकै कारण बस्ती डुबानमा पर्न थालिसकेको उनको भनाइ छ । धानको बिउ राख्ने समयमै खेतका गह्रा पानीले भरिएपछि धान रोप्न बिउको समस्या हुने गरेको भन्दै रोपिएको धान पनि पानीको निकास सहज बनाउन नसकिने कारण कुहेर नोक्सान हुने गरेको खातुनको आरोप छ ।
स्थानीय जैमद्धिन मियाँ भने आफ्नो जग्गा काटेर बाँध बनाउन गाउँपालिका अध्यक्षले ठाडो निर्देशन दिएका कारण आफु अन्यायमा परेको गुनासो गर्छन् । मेची नदीको पश्चिमी भङ्गालोबाट बग्ने पानी पनि झिङ खोलामा पस्ने कारण वर्षामा खोलो भरिएर आसपास जमिनमा पस्ने गरेको उनको भनाइ छ । तर, खोलाको बहाव क्षेत्र खुम्चने गरी गाउँ पालिकाले प्रदेश सरकारलाई इष्टिमेट पठाएको भन्दै नवनिर्मित पुल वरपर प्रदेश सरकारबाट प्राप्त २४ लाख रुपैयाँले बाँधिन थालिएको बाँधले बस्ती र खेती योग्य जमिन डुब्ने अवस्था आएको मियाँले आरोप लगाए ।
निर्माण ठेकेदार कम्पनी गजबक्रम सापकोटा कन्ट्रक्सनका सञ्चालक दिलिप सापकोटा भने बाँध निर्माणमा पटक पटक जैमुद्धिन मियाले अवरोध गरेका कारण सम्पन्न गर्न नसकिएको बताउँछन् । उनले विवाद मिलाउन गाउँपालिकाले भुमिका नखेलेकैकारण समस्या आएको प्रष्ट पारे ।
सापकोटाका अनुसार प्रदेश सरकार मार्फत आएको २४ लाख ९८ हजार रूपैयाँमा पुलको पूर्व पश्चिम सडकसित जोड्ने लिङ्क निर्माण तथा उत्तर दक्षिण बाँध निर्माणको काम हुनेछ ।
निर्माण कम्पनीले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको स्थानीयको आरोप समेत छ । पुरानो बाँधबाटै ढुङ्गा, जाजी निकालेर निर्माण कम्पनीले प्रयोग गर्दै गरेको पाइएको थियो । यस विषयमा जिज्ञासा राख्दा ठेकेदार कम्नीका सञ्चालक सापकोटा पुरानो पुलको पिलर तथा बाँध हटाउनु पर्ने भएकोले भत्काइएको बताउँछन् ।
कचनकवल ५ का वडाध्यक्ष महेशलाल गणेशका अनुसार बाँध निर्माण विवाद वडाको पहलमा गाउँपालिकाले समाधान गरेको बताउाछन् । बस्ती डुबान रोक्न कुनै कसर बाँकी नराख्ने सहमती भएको उनको भनाइ छ ।
नेपालको भारतीय सीमा क्षेत्रसित जोडिएको सिमान्त बस्तीका रूपमा रहेको सो क्षेत्रका भित्री सडकमा पानीको निकास दिन ह्वमपाइपको उचित व्यवस्था समेत नभएका कारण डुबान हुने गरेको पीडित स्थानीय गुनासो गर्ने गरेका छन् ।