धरान  / आज मात्र पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित मिडिया ब्रिफिङमा ४० महिला र पाँच सय ४८ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । एकै दिन पाँच सय थपिएको यो पहिलो पटक हो ।

यता कोरोनाबाट मृत्यु् हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके जिल्लाको बैजनाथ गाउँपालिका– ६ की ४६ वर्षीया महिलाको मंगलबार साँझ मृत्यु भएको जनाएको छ ।

उनलाई मिर्गौलासम्बन्धी समस्या थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३० जेठमा भर्ना भएकी महिलाको मंगलबार मृत्यु भएको हो ।

मृत्युअघि स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगले ग्रस्थ कोरोना संक्रमण पुष्टि भएर मर्नेको संख्या २० पुगेको मन्त्रालयले जनाएको छ ।