भद्रपुर / अस्पतालको आइसियुमा उपचाररत एक जना पुरुषमा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएसँगै आइसियु सेवा बन्द भएको छ । भद्रपुरस्थित मेची अञ्चल अस्पातालमा सोमबार राती नै अस्पतालमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

भद्रपुर नगरपालिका ८ बस्ने ३९ वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत थिए । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । घटनापछि कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबै चिकित्सक तथा कर्मचारी र तिनीहरूको परिवारको सदस्यको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । आइसियुबाहेक अन्य सेवाहरू भने सुचारु रहने उनले बताए ।

कोरोना पुष्टि भएपछि बैठकले दुई दिन आइसियु बन्द राख्ने निर्णय गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । वैठकले अस्पताल भद्रपुरमा कार्यरत चिकित्सकसहित दुई दर्जन बढी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले जनाए । पुरुषको उपचार खटिएका दुई जना फिजिसिन, तीन जना मेडिकल अफिसर, नर्स, कर्मचारी र तिनीहरूको परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनको भनाइ छ ।

अस्पतालको आइसियुमा कोरोना पुष्टि भएका ती पुरुष भारतको मुम्बईबाट आएर मेची बहुमुखी क्याम्पस भद्रपुरको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ उनी सिकिस्त बिरामी परेपछि जेठ ३१ मा अस्पतालमा ल्याएर आइसियुमा भर्ना गरिएको थियो । भारतमै कोरोना पिसीआर टेस्ट गरी नेगेटिभ रिपोर्टसहित उनी काँकडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । काँकडभिट्टामा पनि उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, आइसियुमा भर्ना भएपछि उनको पिसीआर दुई पटक परीक्षण गरिएको र दुवै पटक कोरोना पोजेटिभ आएको डा. ठाकुरले जानकारी दिए । उनीसहित आइसियुमा उपचाररत अर्को एक व्यक्तिलाई त्यहाँबाट सारेर आइसोलेसन वार्डमा राखिएको छ । पुष्टि भएका पुरुषलाइ विपी कोइराला धरान लगिएको छ । सिरियस विरामी भएको जानकारी हुदाहुदै पनि वेवास्ता गरेका कारण यस्तो अवस्था आएको एक कर्मचारीले बताए । चिकित्सक टोलीको लापारबाहीका कारण यस्तो हुन पुगेको उनले सुनाए ।