• अनिल श्रेष्ठ/विराटनगर

विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको श्रीमतीसहित तीन जनालाई अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजालाशले हत्या आरोपमा पक्राउ परेकी दुलालकी श्रीमती मीना श्रेष्ठ, सिरहा लाहान नगरपालिका १० घर भई हाल विराटनगर बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई थुनामा राख्न आइतबार आदेश दिएकाे हाे । 

अदालतको ७ नम्बर इजालशमा आइतबारको थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्दकुमार रेग्मीले बहस गरेका थिए । थुनछेकमा वादी र प्रतिवादीका कानून व्यवसायीहरूले बहस गरेपछि आदेश दिइएकाे हाे । अदालतको आदेशपछि तीनै जनालाइ पुर्पक्षको लागि पठाइकाे जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ३ गते श्रीमती मिनाको योजनाअनुसार प्रेमि ब्रमहदेवसहित तीन जना मिलेर हत्या गरेका थिए । दुलालको हत्यापछि ओछ्यानमा बेहोस भेटिएको भन्दै श्रीमती मीनाले विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो । मृतकको शरीरमा चोट देखिएको र श्रीमती मीनाको भनाइ बाझिएपछि उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । ब्रहमदेवसँग मीनाको अनैतिक सम्वन्ध देवीप्रसादले थाहा पाएपछि मानसिक यातना दिएको भन्दै हत्या गरेकाे बयान दिएकी थिइन् । 

मोरङ प्रहरीले ४ जेठमा पक्राउ गरेको थियो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार अदालतमा अभियोग दर्ता भएको थियो । कर्तब्य ज्यान मुद्दाका तीन जना प्रतिवादीहरूलाई जन्मकैदको माग दाबीसहित अदालतमा अभियोग पत्र दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्दकुमार रेग्मीले जानकारी दिए ।