धरान । लागूऔषधसहित सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानमा दुई युवालाई पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट आइतबार बिहान सोही गाउँपालिका–८ का शिवशंकर मेहतालाई लागूऔषधसहित पक्राउ गरिएको छ । हिँडिरहेको अवस्थामा झोला जाँच गर्दा डाइलेक्स डिसी २१ बेतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र ३७ ट्याब्लेट नाइट्रोसन बरामद गरिएको छ । पक्राउ परेका मेहतालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीको सूचना तथा सञ्चार शाखाले जनाएको छ ।

त्यस्तै आइतबार नै बर्जु गाउँपालिका–३ बाट विराटनगर १६ का सन्तोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्लाष्टिकको बोराभित्र लागूऔषध ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा सन्तोषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बोरोबाट डाइलेक्स डिसी ५९ बोतल, स्पास्मोप्रोक्सिन २८८ क्याप्सुल, नाइट्राभेट १० लेखिएको ६ सय ट्याब्लेट बरामद गरिएको छ । उनीविरुद्ध पनि लागूऔषध ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको जनाएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा अपरान्ह साढे ४ बजेतिर पक्राउ गरिएको हो ।