धरान । प्रदेश २ को सर्लाहीस्थित दशगजा क्षेत्रमा भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलले रोक्न खोज्दा झडप भएको छ ।

भारतीय नागरिकहरू जबर्जस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ तर सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पोसराज पोखरेलले मृत्यु भएको खबर आए पनि अझै पुष्टि हुन नसकेको जानकारी दिए । उनका अनुसार तीन जना भारतीय घाइते बनेको र ३ जना सशस्त्र प्रहरी पनि घाइते बनेका छन् ।

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बललाई एक हुल भारतीय जत्था आएर हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि नभागेपछि १० राउण्ड गोली प्रहार गरिएको र त्यसक्रममा केही घाइते बनेको एसपी पोखरेलले जानकारी दिए । ‘सशस्त्र प्रहरी डिउटीमा थियो, भारतीय एक हुल जत्था आएर सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि हवाई फायर भएकाे सूचना आएकाे छ, नभागेपछि १० राउण्ड जति गोली चलेको छ’ उनले फोनसम्पर्कमा भने ।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । प्रहरीको हतियार खोस्न खोजेपछि भारत सीतामढीका ४५ वर्षीय लगन रामलाई नियन्त्रणमा लिइ सकेको जनाइएको छ । प्रहरीका अनुसार भारतीय पक्षहरू आएर विवाद झिकेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि गोली प्रहार गरिएको थियो ।