• अनिल श्रेष्ठ

विराटनगर /  विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरी पक्राउ गरेको श्रीमतिसहित तीन जनालाई अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले दुलालको हत्या आरोपमा पक्राउ परेकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ का २० बर्षीय सोनु साहलाई प्रतिवादी बनाएर बिहीबार कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता भएको हो ।

इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ४ गते श्रीमति मिनाको योजनामा तीन जना मिलेर हत्या गरेका थिए । मोरङ प्रहरीले उनीहरूलाई ५ जेठमा पक्राउ गरेको थियो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान पुरा गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा अभियोग दर्ता भएको हो ।

अभियोग दर्ता भएकोले शुक्रबार प्रतिवादीहरूको बयान सुरू हुने जिल्ला अदालत मोरङले जनाएको छ । बयान सकिएपछि थुनछेक बहस हुन्छ ।
४ जेठमा व्यवसायी दुलालको हत्या गरेपछि ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मीनाले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । श्रीमती मीना र ब्रह्मदेवको मुख्य योजनामा सोनुको पनि संलग्नमा दुलालको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

देवीप्रसादको श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र मनमुटाव भइ झैझगडा हुँदै आएकोले मीनाको योजना अनुसार हत्या भएको थियो ।