विराटनगर/विराटनगर-१५ रानीस्थित हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले उत्पादन गर्दै आएको प्रशोधित ‘हुलास’ पानीमा अनुचित लाभ लिएर बिक्री गरेको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको टोलीले प्रशोधित हुलास पानी बिक्री गर्दा अनुचित लाभ लिएको पाइएपछि २ लाख रूपैयाँ जरिबाना गरिएको हो ।

हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले १ लिटरको मिनिरल वाटर होलसेल पसललाई १२.९१ रुपैयाँमा म्याट बिल काटेको बिक्री गर्दै आएको छ । सोही पानी उपभोक्तालाई बिक्री गर्दा बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले गलत एमआरपी उल्लेख गरी अनुचित कार्य गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याएको हो ।

यसअघि प्रसोधित पानी उत्पादन व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय मोरङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाको नेतृत्वमा एक लिटरको मिनिरल वाटरको एमआरपी मूल्य २० रुपैयाँ र प्रतिजार ७० रुपैयाँभन्दा बढी एमआरपी मूल्य राख्न नपाइने सहमति भएको थियो । उक्त सहमतिमा हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिका संचालकको पनि उपस्थिति रहेको थियो । उत्पादन लागत मूल्यभन्दा दोब्बर बढी मूल्य राखेर हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिलाई कारवाही गरिएको कार्यालय प्रमुख बरालले बताए । कार्यालय प्रमुख बरालले अन्य पानी व्यवसायीहरूलाई पनि उचित मूल्य निर्धारण गरी प्रसोधित पानी बिक्री वितरण गर्न निर्देशन पनि दिएका छन् । ‘उपभोक्ताहरूबाट पानीको गुनासो आएपछि अनुगमन गरिएको हो,’ उनले भने, ‘अन्यमा पनि यसरी नै अनुगमनलाई तीव्रता दिनेछौं ।’