धरान । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका धरान–९ का एक युवा पक्राउ शनिबार राति धरान–१७ बाट पक्राउ परेका छन् ।

धरान–१७ श्रीप्रसाद राईले सञ्चालनमा ल्याएको किराना पसलबाट रातको समयमा चोरी गर्दै गरेको अवस्थामा धरान–९ का २३ वर्षीय पवन तामाङ पक्राउ परेका हुन् । विगतदेखि नै ग्यास हराइरहेकाले सञ्चालक राईले केही दिनदेखि ढुकेर बसेका थिए ।

शनिबार राति चाहिँ तीन जनाको समूहमा आएकामध्ये तामाङले चोरी गर्दै गरेको समयमा रंगेहात पक्राउ गरेपछि केही समय पसले र उनीबीच घम्साघम्सीसमेत भएको प्रहरीले जनाएको छ । त्यसक्रममा ती युवाको हातको औलासमेत भाच्चिएको छ ।

ती युवालाई जिल्ला अदालत सुनसरीमा चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । यसअघि २०७४ माघ २३ गते उनी लागूऔषधसहित पक्राउ परेर धरौटीमा छुटेका व्यक्ति हुन् ।

उनलाई धरान–८ कोशी राजमार्गबाट १८ एम्पुल डाइजेल्याब, एभिल र लुपिजेसिक पक्राउ गरी मुद्दा चलेको थियो । मुद्दाका क्रममा उनलाई अदालतले धरौटीमा छाडेको इप्रका धरानको अभिलेखमा रहेको छ ।