भद्रपुर । भद्रपुर नगरपालिका–५ स्थित देवीबस्ती नाकाबाट शनिबार अन्दाजी ५२ हजार मूल्य बराबरको सूर्तीजन्य पदार्थ र रजनीगन्धा बरामद गरिएको छ ।

नेपाल प्रहरीले बिहीबार मात्रै भद्रपुर नाकाबाट भित्र्याइएको ठूलो परिमाणको रजनीगन्धा, तुलसी नामक सूर्ती र कपडा दुई वटा गोदाममा छापा मारेर बरामद गरेको थियो । रजनीगन्धा र तुलसी मेची पुलदेखि उत्तर देवीबस्तीबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची पुल र देवीबस्ती नाकामा दुई स्थानमा स्थायी प्रहरी पोस्ट राखिएको छ । मेची पुलमा सशस्त्र र नेपाल प्रहरी खटिएका छन्, भने देवीबस्तीमा सशस्त्र प्रहरी मात्रै खटाइएको छ । पुलदेखि देवीबस्तीको नाकाको दूरी ५०० मिटरभित्रै पर्छ । मेची पुल र देवीबस्तीमा खटिएका प्रहरी लकडाउन लक्षित नभएर वर्षौंदेखि सीमा हुने अवैध गतिविधि रोक्न चौबिसै घण्टा खटिरहेका छन् । त्यही नाकाबाट अहिले पनि धमाधम तस्करी भइरहेको छ ।

त्यसै गरी भापाका अन्य नाकाहरूबाट समेत गरी जम्मा ८६ हजार मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरीका इन्सपेक्टर साकार राज पन्तले जानकारी दिए । बिहीबार रजनीगन्धा र तुलसीसहित नियन्त्रणमा लिएका कारोबारी अशोक सहनीले समेत देवीबस्ती नाकाबाटै भित्र्याएका थिए । भद्रपुर भन्सारले ४ लाख २७ हजार २ सय ९० रुपेयाँ धरौटी लिएर सहनीलाई शुक्रबार एक हप्ताको तारिख दिएर छाडेको छ ।

सशस्त्र प्रहरीे छानबिन गर्ने

भद्रपुर नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको घटना बाहिरिए पछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी नगेन्द्रबहादुर थापाको गम्भीर ध्यानाकर्षण भएको छ ।

१ नम्बर बराह बाहिनी मुख्यालयले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई घटनाको सत्यतथ्य छानबिन गर्न लिखित निर्देशन दिएको छ । बराह बाहिनी मुख्यालयले निर्देशन पछि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सूले डिएसपी कृष्ण श्रेष्ठको नेतृत्वमा शनिबार छानबिन समिति गठन गरेको बताएका छन् ।

समितिले भद्रपुर नाकाबाट भएको तस्करीको विषयमा सशस्त्र प्रहरीको संलग्नता छ वा छैन त्यस विषयमा अनुसन्धान गरी प्रतिवेदन तयार पारेर १ नम्बर बराह बाहिनी मुख्यालयबाट पठाउने जनाइएको छ । यता एसपी थक्सूले भने सबै आन्तरिक कुरा भएकोले मूल्याङ्कन गर्ने कुरा बाहिरबाट भएको उल्लेख गरे ।