भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ६ बाट सशस्त्र प्रहरी बल श्रीपुरले लागूऔषधसहित एकजना १३ वर्षका बालकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीपुरका इन्स्पेक्टर पुर्णबहादुर दाहालका अनुसार शुक्रबार राति चेकजाँचको क्रममा कोशी गाउँपालीका वार्ड नम्बर ६ स्थित श्रीपुरबाट १३ वर्षका बालकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

लागूऔषधसहित पक्राउ पर्नेमा कोशी गाउँपालीका वार्ड नम्बर १ लौकही बस्ने कृष्ण यादव रहेका छन् । उनले बोकेको झोला सशस्त्र प्रहरीलाई देखेपछि भागेका थिए । चेकजाँच गर्दा कृष्णले बोकेको झोलामा २६४ पीस स्पास्मो प्रोक्सभिन र ११ बोतल डाइलेक्स डिसि फेला परेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

लकडाउनको समयमा भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपालमा प्रतिबन्धित लागूऔषध भित्र्याउने गिरोह बढेको पाइन्छ । सीमामा प्रहरीले निगरानी बढाएपछि त्यस्ता लागूऔषध कारोबार धमाधम पक्राउ पर्न थालेको छ ।