लक्ष्मीमार्ग/मोरङ केराबारी गाउँपालिका १० की बिन्दा विक आफ्नै परिवारले मरणासन्न हुने गरी आक्रमण गरेपछि अहिले अस्पतालको आइसियुमा भर्ना भएकी छन् ।

विकमाथि आफ्नै परिवारले आक्रमण गरेका हुन् । सोही वडाकी दलित महिला सदस्य धनमाया विश्वकर्माकी बुहारी बिन्दालाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनी गम्भीर घाइते बनेपछि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको हो । हाल उनी आइसियुमा छटपटाइरहेको आफन्तजनले बताए ।

पटकपटक कुटाइ खाँदै आएकी उनी ११ वर्ष अघि सपन विकसँग प्रेम सम्बन्धमार्फत विहे गरेकी थिइन् । हाल एक छोरा एक छोरी छन् । उनीले १२ वर्षको कलिलो उमेरमै प्रेममा परेपछि विहे गरेको स्थानीय बताउँछन् । बिन्दालाई श्रीमान्ले पटकपटक शारीरिक र मानसिक यातना दिँदै आएको छिमेकी प्रेम ठकुरीले जनाए । पटकपटक यस्ता घटना हुने गरेका कारण स्थाीयले प्रहरी चौकीमा, स्थानीय निकाय र बुद्धिजीवीसहितको समाजमा राखेर मेलमिलाप गराए पनि पुनः घटना घटेको उनले बताए ।

शुक्रबार पुनः श्रीमान्को आक्रमणबाट उनी आक्रमणमा परेकी थिइन् । उनको घाँटी र छातीमा गहिरो चोट लागेको छ । घरमा बस्न नदिएका कारण माइतीमा बस्दै आएकी उनी शुक्रबारमात्रै छोराछोरीको आग्रहमा घर पुगेकी थिइन् ।

श्रीमतीलाई निर्घात कुटपिट गरेर श्रीमान् सपन फरार रहेको इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख इन्स्पेक्टर खड्गबहादुर राई बताउँछन् । दलित महिला प्रतिनिधित्वकै घरमा यस्तो यातना भोग्नु परेपछि अहिले सबत्र आलोचना हुन थालेको छ ।