कालाबञ्जार । वराहक्षेत्रको महेन्द्र माविको क्वारेन्टिनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ ११ गते भारतबाट आएका उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । विराटनगरस्थित कोशी अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको वराहक्षेत्र नगरपालिकाका स्वास्थ्य शाखाका निरीक्षक उमेश मेहताले जानकारी दिए । सुनसरीमा १६ जना कोरोना संक्रमित पुगेका छन् ।

संक्रमित देखिने मध्ये वराहक्षेत्र–५ का १९ र २६ वर्षका पुरुष छन् भने ८ नम्बर वडाका २० वर्षीय एक पुरुष छन् । उनीहरूसहित ३० जनाको गत मंगलबार स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरूलाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा निर्माण गरिएको कोरोना अस्पतालमा लगिएको मेहताले जानकारी दिए ।

भारतबाट ६४ जना आएका थिए । महेन्द्र माविमा ६४ जना र वराहक्षेत्रको प्रकाश माविमा ६० जना क्वारेन्टाइनमा बसेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंका अनुसार सुनसरीमा बिहीबार ३ जनामा संक्रमण देखिएको छ ।

महेन्द्र माविमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षित रहेर बस्नका लागि नगर प्रमुख निलम खनालले निर्देशन दिएका छन् । महेन्द्र मावि आसपासबासीलाई पनि सुरक्षित रहेर बस्न आग्रह गरेका छन् ।

वराहक्षेत्रले थप क्वारेन्टाइन निर्माण गर्ने भएको छ । वराहक्षेत्र–३ भरौलीमा पनि क्वारेन्टिन बनाउने भएको हो । भरौलीको महेन्द्र माविमा निर्माण गरिएको क्वारेन्टिन तयारी भएको नगरका सूचना अधिकृत पुकार पोखरेलले जानकारी दिए ।