भद्रपुर । प्रहरीको मिलेमतोमा भद्रपुर नाकाबाट भारतीय सुर्तीजन्य पदार्थको तस्करी मौलाइरहेको पाइएको छ । सूर्तीजन्यमा पर्ने रजनीगन्धा तस्करी भइरहेको पुष्टि भएको हो ।

वडा प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहेका भद्रपुर क्षेत्रका केही नाकाबाट भित्रिएको सामान जिल्ला प्रहरीको टोलीले बरामद गरेपछि स्थानीय प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि भएको हो । झापाको भद्रपुर नाकामा ड्युटीमा खटिएका सशस्त्र र जनपद प्रहरीकै सेटिङमा सामान भद्रपुर बजार आएको पाइएको छ । 

नेपाल–भारत सीमा नाका बन्द भए पनि भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगंन्धा नेपाल छिर्नु भनेको प्रहरी र कारोबारी बीचको मिलोमतो भएको पाइएको स्थानीय दाबी गर्छन् । नेपाली बजारमा अभाव भएपछि तस्कर तथा कारोबारी समूहले अहिले अन्य धन्दा छाडेर सूर्तीजन्य पदार्थ र रजनीगन्धा प्रहरीकै सेटिङमै धमाधम भित्र्याइरहेका छन् ।

प्रहरीको मिलेमतोमा तस्करी भइरहेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकमा खटिएको टोलीले कारोबारीलाई एक सातादेखि खोजी थालेको थियो । केही दिन खटिएपछि प्रहरीले बिहीबार ठूलो परिमाणमा सूर्तीजन्य पदार्थ, रजनीगंन्धासहित लत्ताकपडा बरामद गर्न सफल भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान भद्रपुर ६ स्थित भानुनगरमा रहेको एक गोदामबाट ६० डब्बा रजनीगन्धा र तुलसी नामकको सूर्ती दुई वटा मोटरसाइकलमा हालेर बिर्तामोड लगिरहेको विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएका टोलीले बिर्तामोडको बिजुली अफिस अगाडिबाट बरामद गरेको थियो ।

ती सामानसहित प्रहरीले धुलाबारीका रमेश साह र दिलिप अग्रवाललाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा भद्रपुरबाट खरिद गरी ल्याएको बताएका थिए ।

त्यसपछि प्रहरीले साहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा जिम्मा लगाएर अग्रवाललाई लिएर भद्रपुरतर्फ आए । साह र अग्रवालले भद्रपुर ५ बस्ने अन्दाजी ३० वर्षीय अशोक सहनीसँग सामान किनेको बताए । प्रहरीले सहनीको दुई वटा गोदाममा रजनीगन्धा खोज्न छापा मारे ।

प्रहरीले गोदाममा छापा मार्दा बिलबीजक नभएको ठूलो परिमाणको लत्ताकपडा पनि बरामद गर्न सफल भएको छ । टोलीले भद्रपुर ६ को गोदामबाट रजनीगन्धा, तुलसीसहित २१ बट्टा र ६ रोल थान कपडा र भद्रपुर ५ स्थित बसपार्क नजिकैको गोदामबाट पाँच पोका कपडा बरामद गरेको छ । 

प्रहरीले छापा मारेको दुइटा गोदाम नै आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको र सामानको बिलबीजक समेत देखाउन नसकेपछि सो सामान जफत गरिएको एसपी कोइरालाले बताए । यता बरामद गरिएका रजनीगन्धा र तुलसी ३९ हजार ६९० रुपैयाँ र विभिन्न किसिमका कपडा ३ लाख ८७ हजार ६ सय मूल्य तोकेर कारोबारी सहनीलाई समेत भद्रपुर भन्सार कार्यालय बुझाइसकेको बताइएको छ । कारोबारी सहनीलाई केही दिनअघि मात्र प्रहरी कार्यालय झापाको सादा पोसाकको टोलीले भद्रपुरको मेची खोलामा राति १ बजे भेटाएका थिए ।

सहनीसँग सामान फेला नपरेपछि प्रहरीले उनलाई चेतावनी दिएर छाडेको थियो । सहनीसहित भद्रपुरका अन्य नाम चलेका कारोबारीले समेत ड्युटीमा खटिएका  प्रहरीलाई पटके चार हजार दिएर सामान भित्र्याउँदै आइरहेको एक कारोबारीले बताए  । भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवीबस्ती, मसानघाट, चाचा बगान, डाँगीबारी, मेचीपारि, राजगढलगायतको क्षेत्रबाट तस्करी मौलाएको स्थानीयको दाबी छ । 

केही दिनअघि पनि प्रहरी कार्यालय झापाको टोलीले मेची खोलाबाट चार पोका  सामान बरामद गरेको थियो । ६० हजार मूल्य बराबरको सामानमा रजनीगन्धा, तुलसीलगायत खाद्यान्न रहेको प्रहरीले जनाएको छ । त्यसै गरी जलथलबाट एकथान मोटरसाइकलसहित बाबा खैनीसमेत इलाका प्रहरी कार्यालय सुरुङ्गाले बरामद गरिसकेको छ । 

चौबिसै घण्टा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा सहयोग गरेपछि जिल्लाको सादा पोसाकको टोली भद्रपुर नाकामा खटिन बाध्य भएका छन् ।  भद्रपुरमा  रजनीगन्धा, बाबा खैनी तस्करी गर्नेमा दुइटा समूह बनाएर सुरु गर्दै आइरहेका छन् भने एउटा समूह नाम चलेका कारोबारी हुन् ।