भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय संरक्षण अधिकारीबाटै वन फडानीदेखि वन्यजन्तुको सिकार गर्ने व्यक्तिलाइ संरक्षण गर्ने गरेकाे गुनासो आएको छ ।

कोशीटप्पुमा रामदेव चौधरी प्रमुख संरक्षण अधिकृतका रूपमा आएपछि वन फडानीदेखि वन्यजन्तुको चोरीसिकार बढेको पाइएको छ ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनको समयमा चित्तल, बँदेल जस्ता वन्यजन्तुको चोरीसिकार बढेको छ । लकडाउनको अवधिमा अहिलेसम्म ७ जना चित्तल सिकारी पक्राउ परेका छन् ।

सिकारीलाई मोटो रकम लिएर छाडेको आरोप

गएको चैत्र २९ गते चित्तलको सिकार गरेको आरोपमा नेपाल आर्मी र कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी नेतृत्वको संयुक्त टोलीले रंगेहात पक्राउ गरेका दुईजना सिकारीलाई मोटो रकम लिएर आरक्षका वार्डेन रामदेव चौधरीले छाडेको गुनासो आएको छ ।

वराहक्षेत्र नगरपालिका-९ श्रीलंका टापुको नारायणपुर भन्ने स्थानबाट सिकार गर्दै गरेको भन्ने खबर प्राप्त भएपछि कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ श्री शत्रुभञ्जन गुल्म अन्तर्गत सुरक्षा पोष्ट श्रीलंका टप्पुबाट आरक्ष कर्मचारी सहितको संयुक्त टोलीले सोही स्थान बस्ने वर्ष ३० का सन्तोष कविरथ र ४० वर्षका डोमा कविरथलाई पक्राउ गरेकाे थियाे । 

नेपाल आर्मीले अन्दाजी ४ वर्षको चित्तलको सिकार गरी घरमा लुकाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा आवश्यक कानुनी कारबाहीको लागि बुझाएको थियो तर कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीको निर्देशनमा आरक्षका रेन्जर जयराम न्यौपानेसहितले अनुसन्धान समेत नगरी पक्राउ परेकाहरूका आफन्तबाट मोटो रकम लिएर उनीहरूलाई छाडेको गुनासो आएको छ ।

जबकि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम वन्यजन्तुको चोरीसिकार गर्ने व्यक्तिलाई (३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरू हेरी अनुसन्धान गर्न एकैपटक वा पटक पटक गरी बढीमा पैँतालीस दिनसम्म थुनामा राख्ने अनुमति दिन सक्ने व्यवस्था छ । चित्तलको सिकार गर्ने व्यक्तिलाई ६ महिनादेखि १ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिबानाको प्रावधान रहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगत बताउँछन् ।

चित्तल सिकार गर्ने व्यक्ति छाडिएको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको भन्दै सूचना अधिकारी भगतले अनभिज्ञता प्रकट गरे । यसबारेमा जिज्ञासा राख्दा कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर तथा अनुसन्धान अधिकारी जयराम न्यौपानेले छानबिनकै क्रममा उनीहरूलाई वडाध्यक्ष र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षकाे रहाेबरमा छाडेको प्रतिक्रिया दिए ।

उनले भने "छानबिन अझै जारी छ हामीले चित्तल सिकार गर्ने फरार रहेका थप केही व्यक्ति पक्रिन सन्तोष कविरथ र अर्का डोमा कविरथलाई छाडेको हो ।" 

थुनुवा बस्ने सिकारी कसरी छुटे ?

२०७६ साल चैत्र २९ गते कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिम कुसाहाले पत्र संख्या २०७६/०७७ चलानी नम्बर ७८६ मा डोमा कविरथ र सन्तोष कविरथलाई प्रतिवादी बनाएर अवैध रूपमा वन्यजन्तु चित्तल मारेको मुद्दामा कसुर अनुसन्धानको लागि हिरासतमा राख्नुपर्ने भएको भन्दै थुनुवा पुर्जी दिइएको थियो तर उनीहरूको मुद्दा अनुसन्धान गर्ने अधिकारी रेन्जर न्यौपानेले मुद्दा अधिकारी प्रमुख संरक्षण अधिकृत वार्डेन रामदेव चौधरीको निर्देशनमा एकहप्तामा पनि थुनामा न राखी मोटो रकमको चलखेलमा आरोपित छाडेको श्रोतको भनाइ छ ।

डोमा र सन्तोषसँगै थप केही आरोपित पक्रिन भन्दै उनीहरूलाई सम्झाैता बनाएर छाडेको भन्दै अनुसन्धान अधिकारी न्यौपानेले प्रतिक्रिया दिए । सरकारी वकिलको कार्यालयसँगको राय सल्लाह सुझावअनुसार उनीहरूलाई छाडेको उनले बताए । उनले भने "जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता गोपुलप्रसाद बास्कोटासँग राय लिएरै थुनामा भएको अभियुक्तहरुलाई छाडेका हौ ।"

कार्यालयका सूचना अधिकारी आफैं मुद्दा चलाइएका व्यक्ति कसरी र कुन आधार छाडियो भन्ने बारेमा बेखबर हुनु, आरक्षका रेन्जरले ५० दिनभन्दा बढी पुगे पनि अझै छानबिन जारी रहेको भन्नुले वन्यजन्तुको सिकार गर्ने व्यक्तिलाई आरक्षका वार्डेन चौधरी, रेन्जर न्यौपानेसहितकाले मोटो रकम लिएर छाडेको आरोपमा बल पुगेको देखिन्छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका दुर्लभ प्रजातिका वन तस्करहरूसँग मिलेर फडानी गरेको आरोप समेत आरक्ष वार्डेन चौधरीमाथि लाग्ने गरेको छ । साथै कोशी गाउँपालीका, वरहा नगरपालिका र सप्तरी जिल्लाको विभिन्न स्थानमा दैनिक रूपमा मानव बस्ती पस्ने जंगली हात्ती, अर्नालगायत जनावरको समूहले बालीनाली, घरगोठ, भण्डारण गरेको अन्नबाली नोक्सानी तथा मानवीय क्षतिसमेत गर्दै आए पनि त्यसलाई रोकथाम गर्न आरक्षका  वार्डेन रामदेव चौधरीले कुनै चासो न देखाएको स्थानीय बताउँछन् ।

यता यसबारेमा प्रतिक्रिया लिन सम्पर्क गरे पनि कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले अनुसन्धान अधिकारीसँग सोध्नुस् भन्दै पन्छिन खोजे । कोशीटप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु तथा दुर्लभ जनावर संरक्षण गर्न खटेका संरक्षण अधिकारीकै प्रश्रयमा चोरीसिकार बढेको र रंगेहात पक्राउ परेका व्यक्तिलाई समेत कानुनी कारबाही न गरी मोटो रकम लिएर छाडेको भन्दै स्थानीयहरुले वन फडानी तथा जनावरको सिकार गर्नेव्यक्तिलाई छाडेको सम्बन्धमा यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।