धरान । नेपालमा एक हजार पुगेकाे पाँच दिनको अन्तरालमा संक्रमितको संख्या दोब्बर बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेअनुसार कुल संख्या २ हजार ९९ पुगेको छ । जेठ १५ गते एक हजार ४२ कोरोना संक्रमित रहेका थिए । पाँच दिनको अन्तरालमा संक्रमितको संख्या दोब्बर बढेको हो । आज (मंगलबार) मात्रै २८८ जना कोरोना संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक चीनबाट आएका पुरुषमा माघ १० गते कोरोना संक्रमित देखिएको थियो । त्यसको ठीक एक–एक महिना पछि मात्रै दोस्रो संक्रमित र तेस्रो संक्रमित देखिएका थिए ।

त्यस यता भने नेपालमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्न थालेको हो । डा. देवकोटाका अनुसार नेपालमा कोरोनाबाट निको भएर घर फर्किनको संख्या २६६ पुगेको छ । हिजो (सोमबार) साँझ मात्रै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट धरानकी ५१ वर्षीया महिलासहित १८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका थिए । हालसम्म ७५ हजार ३ सय ४५ को पीसीआर परीक्षण गरिएको छ ।