धरान । युकेमा बस्दै आएका तरहराका एक युवालाई हत्या गरेको अभियोगमा फरार तीन जना युवालाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार इटहरी–२० तरहरास्थित एकता टोलका २६ वर्षीय राजन राईलाई छुरा प्रहार गरी तीन जना युवाले हत्या गरेका थिए । फरार रहेका युवाहरूलाई खनार पूर्वबाट सोमबार साँझ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मुख्य अभियुक्त प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी छन् । उनीहरूलाई इटहरी–११ खनारभन्दा पूर्वतर्फ लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
ती युवाहरू दुव्र्यसनीमा फसेका थिए । तीनै जना युवाहरू गाँजा, तथा गोटी खाने युवाहरू रहेको प्रहरी बताउँछ । प्रज्वलसँग सामान्य विवाद भए पछि ढुकेर राजनमाथि तीनै जना युवाले छुरा र लाठ्ठी प्रहार गरेका थिए । गम्भीर घाइते बनेका राजनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । उनी बेलायतमै बस्दै आएको भए पनि लकडाउन अघि तरहरा आएका थिए । लकडाउनका कारण बेलायत फर्किन पाएका थिएनन् । उनी पूर्व ब्रिटिस आर्मीका छोरा हुन् । तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।