धरान । भारत बिहार राज्यको सीतामडी जिल्लामा बिहे भएकी धरानकी चेली रेखा दासको शंकास्पद मृत्युपछि माइतीपक्षले प्रहरीमा उजुरी दिएपछि ‘छोरीहरूको नाममा जग्गाजमिन दिने, पढ्ने र बिहे खर्चसमेत दिने’ सहमति भएको छ ।

माइती पक्ष र पीडक पक्षका आफन्तबीचमा आइतबार बसेको छलफलले यस्तो सहमति बनेको धरान–९ का वडाध्यक्ष रत्न कट्वालले आफन्तको भनाइ उदृत गर्दै जानकारी दिएका छन् । मृतक रेखाकी माइती पक्षले सीतामडीमा पुगेर प्रहरीमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भए लगत्तै रेखाकी पति शिवकुमार रामसहित देवरहरू फरार भएका थिए । हालसम्म उनीहरू फरार नै रहेका छन् ।

माइती पक्षबाट बुबा मुन्ना दास, दाजु राजु दास र भारतमै बिहे भएकी दिदी शाेभा दास सीतामडी पुगेका छन् । रेखाको घर पक्षका आफन्तहरूसँग छलफलमा तीन जना छोरीको नाममा जग्गाजमिन दिने, पढ्ने, खानपिन साथै बिहे खर्चसमेत दिने सहमति बनेको मृतक रेखाको कान्छो भाइ पप्पु दासले जानकारी दिएको वडाध्यक्ष कट्वालले जानकारी दिए । ‘हिजो पीडकको आफन्त र माइती पक्षबीच सहमति बनेछ, छोरीहरूलाई पढ्नेसहित बिहे खर्चसमेत दिने सहमति गरेको कान्छो भाइले जानकारी दिएको छ’–उनले फोनमा भने ।

फरार दाजुभाइ हालसम्म आएका छैनन् । उनीहरू आएपछि मात्रै यताबाट गएकाहरू कागज गरेर मात्रै फर्किने तयारीमा रहेका छन् । रेखाको जेठको पहिलो साता शंकास्पद मृत्यु भएको थियो । माइती पक्षलाई जानकारी नगराई दाहसंस्कार गरेपछि माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएका थिए ।

रेखाको घरपरिवारले भने झाडा पखालाका कारण मृत्यु भएको भन्दै माइती पक्षले केरकार गर्दा जानकारी गराएका थिए । करिब १३ वर्षअघि बिहे गरेका रेखालाई विभिन्न निहुँमा मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको आरोप छ । रेखाको ११ वर्षीया, ७ वर्षीया र ३ वर्षीया छोरी छन् । छोरी भएको निहुँमा पनि यातना दिँदै आएको परिवारको आरोप थियो ।