धरान । बलिउडका चर्चित म्युजिक कम्पोजर वाजिद खानको आज (सोमबार बिहान) मुम्बईमा निधन भएको छ ।

४२ वर्षीया वाजिदको मृत्युको पुष्टि गायक सोनु निगमले ट्वीटमार्फत् गरेका छन् । वाजिद बलिउड उद्योगमा सन् १९९८ बाट डेब्यु गरेका थिए । सलमान खान अभिनित फिल्म ‘प्यार किया तो डरना क्या’ बाट संगीत क्षेत्रमा प्रवेश गरेका उनले गायन भने सन् २००८ बाट मात्रै सुरु गरेका थिए ।

उनी कम्पोजरका रूपमा लामो समय व्यतित गरिसकेपछि गायनमा पनि आफ्नो कौशल देखाएका थिए । उनले सलमान खान अभिनित ‘पाटनर’ फिल्ममा पहिलो पटक गायन सुरु गरेका थिए । उनी पछिल्लो समययता मिर्गौलाका रोगी थिए भने कोरोना भाइरसबाट पनि संक्रमित रहेको बताइन्छ तर, उनको मृत्युको कारण भने मिर्गौला खराब भएर भएको पुष्टि गरिएको छ । बलिउडका संगीत उद्योगसँगै सेलिब्रेटीहरूले उनको मृत्युलाई लिएर दुःख प्रकट गरेका छन् ।

प्रियङ्का चोपडाले लेखेकी छन्,–‘अनपत्यारिलो घटना । वाजिदको परिवारलाई भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् ।’ वाजिदले सोनु निगमसँगै धेरै एल्बमहरूमा काम गरेका थिए । सोनु निगमले ट्वीटरमा ‘हि ह्याज पास्ड अवे, कान्ट टक राइट नाव’ लेखेका छन् । वाजिदले अधिकांस सलमान खानको फिल्ममा म्युजिक कम्पोज र गायनमा देखिएका थिए ।